जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार ०८:०६

इनम प्रकरणमा विश्वप्रकाशको प्रश्न: गगन थापा लगायत विरुद्ध बयान दिए छोडिदिने,नत्र फसाइदिने भन्ने उजुरीको वास्तविकता के हो?


काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले प्रहरी हिरासतमा रहेका इनम सापकोटाको बयान र उहाँकी पत्नीले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको उजुरीलाई लिएर प्रधानमन्त्रीसमक्ष गम्भीर प्रश्न उठाउनुभएको छ ।

शर्माले सापकोटाकी पत्नीले आयोगमा दिएको उजुरीमा उल्लेखित ‘कांग्रेस सभापति गगन थापालगायत व्यक्तिविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने’ भन्ने विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रश्न गर्दै उजुरीमा उल्लेखित विषय झुटो हो वा राज्यकै आडमा एकपछि अर्को अपराधका योजना बनिरहेका छन् भन्नेबारे स्पष्ट पार्नुपर्ने बताउनुभएको छ ।

शर्माले लेख्नुभएको छ, ‘काँग्रेस सभापति गगन थापालगायत व्यक्तिहरूविरुद्ध बयान दिए छोडिदिने, नत्र फसाइदिने !  इनम सापकोटाकी श्रीमतीको उजुरीमा उल्लेखित विषयको वास्तविकता के हो प्रधानमन्त्रीज्यू ?’

उहाँले मानव अधिकार आयोगमा परेको उजुरीलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै यस प्रकरणको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने धारणा राख्नुभएको छ । ‘मानव अधिकार आयोगमा उहाँले दिनुभएको उजुरी झुटो हो कि स्वयं राज्यको आडमा अपराधका डिजाइनहरू क्रमशः एकपछि अर्को बन्दैछन् ?’ उहाँले प्रश्न गर्नुभएको छ ।

के छ इनमकी पत्नीले मानव अधिकार आयाेगमा दिएकाे उजुरीमा ?

अनधिकृत आर्थिक कारोबार तथा बिचौलियाको भूमिकासम्बन्धी आरोपमा अनुसन्धानका लागि पक्राउ परेका इनम सापकोटालाई प्रहरी हिरासतमा दबाब र यातना दिइएको दाबी गरिएकाे छ। उहाँकी पत्नी कविता पाण्डेले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगमा पतिको जीवन रक्षा र मानव अधिकार संरक्षणको माग गर्दै उजुरी दर्ता गराउनुभएको हो ।

उजुरीमा सापकोटालाई पक्राउ गरेपछि आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा लगिएको, मानसिक यातना दिइएको तथा विभिन्न राजनीतिक नेता, व्यवसायी र न्यायिक क्षेत्रका व्यक्तिविरुद्ध बयान दिन दबाब दिइएको उल्लेख छ ।

उजुरीमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, होटल हिमालयका नवीन तुलाधरलगायत व्यक्तिविरुद्ध प्रमाण र बयान दिन आफूलाई दबाब दिइएको सापकोटाको दाबी छ ।

उहाँलाई आफूले भनेअनुसार बयान नदिए लामो समय जेल बस्नुपर्ने गरी झुटा मुद्दा लगाउने र परिवारसमेतलाई जोखिममा पार्ने धम्की दिइएको उल्लेख छ । प्रहरीले आफूले लेखेको कागज पढ्न लगाएर अडियो रेकर्ड गरेको र त्यही सामग्रीलाई आधार बनाएर थप बयान दिन दबाब दिइएको दाबीसमेत उजुरीमा गरिएको छ ।

सापकोटाको उजुरीपछि राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे अनुसन्धान अघि बढाउने र सम्बन्धित सरकारी निकायसँग जानकारी लिने जनाएको छ । हिरासतमा रहेका सापकोटाको अवस्थाबारे अनुगमन गर्ने तयारीसमेत आयोगले गरेको  छ । 

‘इनम प्रकरण’लाई सस्पेन्स थ्रिलर फिल्म बनाउन मिल्दैन : शर्मा

वरिष्ठ उपसभापति शर्माले लोकतन्त्रमा पारदर्शिता आधारभूत स्तम्भ भएको उल्लेख गर्दै ‘इनम प्रकरण’लाई रहस्यमय घटनाका रूपमा लम्ब्याउनुको सट्टा सम्पूर्ण सत्यतथ्य सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘पारदर्शिता लोकतन्त्रको आधारभूत स्तम्भमध्ये एक हो । इनम प्रकरणलाई सस्पेन्स थ्रिलर फिल्मका रूपमा होइन, यसमा जोडिएका सम्पूर्ण सत्यतथ्य जान्न पाउने हक नागरिकलाई छ ।’

साे प्रकरणसँग सम्बन्धित घटनाक्रमका विभिन्न पाटाहरू क्रमशः सार्वजनिक भइरहेकाले अब वास्तविकता लुकाएर राख्न नहुने उहाँको भनाइ छ । षड्यन्त्रका तहहरू क्रमशः खुल्दै गएको उल्लेख गर्दै उहाँले अब सम्पूर्ण सत्य बाहिर आउनुपर्ने धारणा राख्नुभएको छ ।

शर्माले यस प्रकरणमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसद्ले अग्रसरता लिनुपर्नेमा जोड दिनुभएको छ ।उहाँले भन्नुभएको छ, ‘षड्यन्त्रका पत्रहरू क्रमशः खुल्दैछन्, अब पर्दा पूरै च्यातिनुपर्छ । वास्तविकता जे हो, त्यसउपर अब निष्पक्ष र पारदर्शी छानबिन गराउन संसद्ले अग्रसरता लिन जरुरी छ ।’

सापकोटामाथि लागेका आरोप, उहाँले प्रहरी अनुसन्धानका क्रममा दिएको भनिएको बयान र पत्नीमार्फत मानव अधिकार आयोगमा दर्ता भएको उजुरीबीचका विषयहरू अब निष्पक्ष अनुसन्धानबाट स्पष्ट हुनुपर्ने देखिन्छ । हिरासतमा रहेका व्यक्तिले लगाएको दबाब, यातना र धम्कीसम्बन्धी आरोपले प्रहरी अनुसन्धानको निष्पक्षता र राज्यको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ ।