जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार २०:३८

इनम सापकोटाको आरोप : ‘चोलेन्द्र, गगन र उमेशविरुद्ध जबर्जस्ती बयान गराइयो, परिवारलाई ज्यानको धम्की’


काठमाडौँ, मङ्सिर ११ । अनधिकृत कारोबार तथा उच्चपदस्थ व्यक्तिहरूसँगको सम्पर्कमा बिचौलियाको भूमिका खेलेको आरोपमा पक्राउ परेका इनम सापकोटाले आफ्नो जीवनरक्षाको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।

श्रीमती कविता पाण्डेमार्फत शुक्रबार आयोगमा दर्ता गरिएको उजुरीमा सापकोटाले आफूलाई सुरक्षाकर्मीले जबर्जस्ती बयान दिन लगाएको र परिवारसमेतलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्।

सापकोटाको दाबीअनुसार उनलाई विमानस्थलबाट नियन्त्रणमा लिएपछि आँखामा पट्टी बाँधेर अज्ञात स्थानमा लगिएको थियो। सोधपुछका क्रममा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध प्रमाण तथा बयान दिन दबाब दिइएको थियो।

उजुरीमा उनीहरूविरुद्ध बयान दिए आफूलाई छाडिदिने र नदिए आफू तथा परिवारलाई समेत नराम्रो हुने धम्की दिइएको उल्लेख छ। आफूले नचिनेका व्यक्तिहरूका विषयमा समेत सुरक्षाकर्मीले भनेअनुसार बयान दिन दबाब दिएको सापकोटाको आरोप छ।

उनले आफूलाई मानसिक यातना दिइएको, प्रहरीले तयार पारेका विवरण ठूलो स्वरमा पढ्न लगाएको र पछि ती विवरणमा हस्ताक्षर गर्न दबाब दिएको दाबी गरेका छन्। आफूलाई थाहा नभएका विषयमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि झुटा मुद्दामा फसाउने धम्की दिइएको पनि उजुरीमा उल्लेख छ।

सापकोटाले आफूले पढेका कुराको अडियो रेकर्ड गरी काँटछाँट गरेर सार्वजनिक गरिएको र त्यही अडियोका आधारमा बयान दिन दबाब दिइएको आरोपसमेत लगाएका छन्। एआईबाट तयार गरिएका कागजात तथा प्रमाणसमेत आफूलाई फसाउन प्रयोग गर्न खोजिएको उनको दाबी छ।

त्यस्तै, आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिको हातमा दिइएको र त्यसमा छेडखानी गरी नभएका प्रमाण सिर्जना गरिएको आरोप पनि उनले लगाएका छन्। घर खानतलासीका क्रममा विदेशी मुद्रा फेला परेको भन्दै मुचुल्का बनाइएको तथा खाली कागजमा श्रीमतीको हस्ताक्षर गराइएको दाबीसमेत उजुरीमा गरिएको छ।

आरोप प्रमाणित नहुँदै आफूलाई ‘देशकै सबैभन्दा ठूलो बिचौलिया’ र ‘फिक्सर’ जस्ता उपनाम दिएर सञ्चारमाध्यममा बदनाम गरिएको भन्दै सापकोटाले मौलिक हक उल्लङ्घन भएको जिकिर गरेका छन्। उनले आफूमाथि भएका भनिएका घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन्।

राष्ट्रिय मानव अधिकार आयोगका एक सदस्यका अनुसार सापकोटाकी श्रीमती कविता पाण्डेले आयोगका अध्यक्ष तपबहादुर मगरसँग भेट गरी रुँदै श्रीमान्को जीवनरक्षाको आग्रह गरेकी थिइन्। आयोगको टोलीले हिरासतमा रहेका सापकोटाको अवस्था बुझ्न सोमबार जिल्ला प्रहरी परिसर काठमाडौं जाने जनाएको छ।

सापकोटा गत असोज १४ गते भारत जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। यसअघि पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पनि गत असोज ११ गते प्रहरीले नियन्त्रणमा लिएको थियो। जबरासँगको सम्पर्कका आधारमा सापकोटामाथि अनुसन्धान अघि बढाइएको प्रहरीको दाबी छ।

सापकोटासँगको सम्पर्क देखिएको आधारमा प्रहरीले विभिन्न व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। यस प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पक्राउ परिसकेका छन्। सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाललाई समेत सेवाबाट बर्खास्त गरिएको छ।