काठमाडौं, मंसिर ११ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको हालै सम्पन्न भारत भ्रमण नेपालको राष्ट्रिय हित, स्वाभिमान र सीमा विवादका सवालमा असफल तथा निराशाजनक रहेको टिप्पणी गर्नुभएको छ।
उहाँले राष्ट्रियताको विषयमा चर्का अभिव्यक्ति दिने प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा नेपालको महत्वपूर्ण सरोकारका विषय उठाउन नसकेको भन्दै भ्रमणले नेपाली जनतालाई लज्जित बनाएको बताउनुभयाे । आज प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत नेपालको सीमा विवादका विषयमा प्रधानमन्त्रीले भारतीय पक्षसँग प्रभावकारी छलफल गर्न नसकेको बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको भारत भ्रमणले हामी सबैलाई लज्जित बनाएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखेर नेताहरूमाथि व्यङ्ग्य गर्नुहुन्थ्यो। हरेक भ्रमणमा उहाँले अर्ती–उपदेश दिनुहुन्थ्यो। अस्ति उहाँ भारत भ्रमणमा जानुभयो। नेपालका हित र सरोकारका विषयमा केही कुरा राख्न सक्नुभएन।’
महासचिव पोखरेलले लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा विवाद भ्रमणको एजेन्डामै समावेश हुन नसकेकाे बताउनुभयाे। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले समेत ती विषय भ्रमणको एजेन्डामा नरहेको बताएको उल्लेख गर्दै उहाँले नेपालको राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्रीले आवश्यक कूटनीतिक पहल गर्न नसकेको टिप्पणी गर्नुभयो।
त्यसैगरी, नेपाल–भारत सम्बन्ध पुनरावलोकनका लागि तत्कालीन एमाले नेतृत्वको सरकारले गठन गरेको प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतले बुझ्न नमानेको अवस्थामा त्यसलाई स्वीकार गरी कार्यान्वयनमा लैजान प्रधानमन्त्रीले भारतीय पक्षसँग आग्रह गर्न नसकेको उहाँको भनाइ थियो। ‘त्यसकाे उहाँले उच्चारण पनि गर्नु भएन’, पोखरेलले भन्नुभयाे ।
पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई रुटको विषयमा पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो। भैरहवा हवाई प्रवेशमार्ग दुईतर्फी बनाउने विषयमा भएको सहमतिलाई सकारात्मक रूपमा लिए पनि उडानको उचाइसम्बन्धी विवादले नेपालको हवाई उडानमा थप समस्या आउन सक्ने उहाँले चिन्ता व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, ‘हिजो हवाई रुट नदिएर अड्किएको थियो, आज उडानको उचाइ कति हुने भन्ने बहसका नाममा नेपालले प्रयोग गर्न नपाउने स्थिति उत्पन्न हुन सक्छ।’
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई खर्ब रुपैयाँभन्दा बढी ऋण प्राप्त भएको विषयलाई उपलब्धिका रूपमा प्रचार गरिएकोप्रति पनि महासचिव पोखरेलले प्रश्न उठाउनुभयो। विगतमा ऋणले देश डुबाएको भन्दै आलोचना गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू अहिले ऋण प्राप्तिलाई नै उपलब्धिका रूपमा प्रस्तुत गर्न थालेको उहाँको टिप्पणी थियो।
सरकारले एक सय दिनमा अनेक काम गर्छाै भनि प्रचार गरेकाे भए पनि ती कुनै काम गर्न नसकेकाे उहाँले बताउनुभयाे । सरकारले एक पछि अर्का देश र संविधान विराेधी काम गर्न लागेकाे उहाँकाे धारणा छ ।
लाेकतन्त्रमा सहमति र सहकार्य आवश्यक पर्ने बताउँदै उहाँले प्रधानमन्त्रीले त्यसमा कुनै ध्यान नदिएकाे उहाँले बताउनुभयाे । विपद्काे बेलामा समेत प्रधानमन्त्रीले कुनै संवाद नगरेकाे पाेखरेलले बताउनुभयाे ।
नाे लाइन भनेर नारा लगाउनेहरु सरकारमा गए पछि अहिले सरकारी कार्यालयमा जताततै लाइन लागेकाे पाेखरेलकाे भनाइ छ । सुशासनकाे रटान दिने सरकाले थप अव्यवस्था बढाएकाे पाेखरेलले बताउनुभयाे ।
पाेखरेलले ताेकिएकाे यसमा नै स्थानीय तहका निर्वाचन हुनु पर्छ भन्ने मान्यता एमालेकाे रहेकाे सुनाउनुभयाे । महासचिव पोखरेलले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा विचार र राजनीतिक दृष्टिकोण मिल्ने दलहरूसँग चुनावी तालमेल गर्ने विषयमा नेकपा एमालेभित्र छलफल भइरहेको जानकारी पनि दिनुभयो। उहाँका अनुसार समान राजनीतिक विचार र उद्देश्य भएका दलहरूसँग सहकार्य गर्ने एमालेको तयारी छ।













प्रतिक्रिया दिनुहोस्