जनता टाइम्स

११ मंसिर २०८३, शुक्रबार १९:२३

भूमिहीन र सुकुम्वासीलाई विस्थापन होइन, सम्मानजनक पुनर्स्थापना आवश्यक : कुलमान घिसिङ 


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भक्तपुरको मध्यपुर थिमी–बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा आश्रय लिइरहेका सुकुम्वासी परिवारलाई वैकल्पिक आवासको व्यवस्था नगरी हटाउने निर्णय स्थगित गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

काठमाडौं उपत्यकाका नदी किनारबाट उचित वैकल्पिक व्यवस्था नगरी विस्थापित गरिएका सुकुम्वासी परिवारलाई अहिले आश्रय लिइरहेको स्थानसमेत खाली गर्न निर्देशन दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घिसिङले मानवीय संवेदनशीलतालाई बेवास्ता गरेर उनीहरूलाई पुनः विस्थापित गर्न नहुने बताउनुभएको छ।

जाडोको मौसममा सुरक्षित आवासको सुनिश्चितताबिना सुकुम्वासी परिवारलाई हटाउनु उचित नहुने उहाँको भनाइ छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अशक्त व्यक्तिहरूको अवस्थालाई संवेदनशीलतापूर्वक विचार गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ।

घिसिङले भूमिहीन तथा सुकुम्वासी समस्याको समाधान विस्थापन मात्रै नभएको स्पष्ट पार्दै उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापनामा जोड दिनुभएको छ।  ‘भूमिहीन तथा सुकुम्वासी समस्याको समाधान विस्थापन मात्र होइन, उचित पहिचान, संवाद र सम्मानजनक पुनर्स्थापना हो’, उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकाे छ । 

वैकल्पिक आवासको व्यवस्था नहुन्जेल आश्रयस्थल खाली गराउने निर्णय स्थगित गर्न घिसिङले माग गर्नु भएकाे छ । उहाँले भन्नुभएको छ, “प्रभावित परिवारका आधारभूत आवश्यकताको सुनिश्चितता गर्न र दीर्घकालीन तथा न्यायपूर्ण समाधान खोज्न सरकारसँग हार्दिक आग्रह गर्दछु।”

नागरिकलाई सुरक्षित आवास र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै घिसिङले सुकुम्वासी समस्यालाई मानवीय र न्यायपूर्ण ढङ्गले समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।