कास्की, मङ्सिर १२ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कास्कीका विभिन्न विकास आयोजनाको स्थलगत अनुगमन गर्नुभएको छ।
मन्त्री श्रेष्ठले शुक्रबार रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्दै आयोजनाको भौतिक प्रगतिलगायत समग्र अवस्थाबारे जानकारी लिनुभएको हो। आयोजना व्यवस्थापनका तर्फबाट हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराइएको थियो।
आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी कामलाई गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको थियो। कुल चार अर्ब ५२ करोड रुपैयाँ लागत रहेको आयोजना रूपाताल संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
रूपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले कास्कीका अन्य तालको संरक्षण योजना पनि अघि बढाउन सकिने बताउनुभयो।
यसैबीच, मन्त्री श्रेष्ठले गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी फेवाताललगायत प्रदेशका ताल तथा जलाशयको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका विषयमा छलफल गर्नुभयो। भेटमा ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजना सङ्घ र प्रदेश सरकारबीचको समन्वयमा अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो।
मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सबस्टेसनको समेत अनुगमन गरी पोखरा र आसपासका क्षेत्रमा विद्युत् आपूर्ति तथा वितरण प्रणालीको अवस्थाबारे जानकारी लिनुभयो। उहाँले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको सञ्चालन तथा उपयोगिताबारे पनि जानकारी लिनुभएको थियो।
हिउँदमा आन्तरिक विद्युत् उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच तालमेल मिलाएर आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो। उहाँले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँग छलफल गरी सेवा प्रवाह र वितरण प्रणाली सुधारका चुनौतीबारे जानकारी लिनुभयो।
विद्युत् चुहावट घटाउने, काठका पोल प्रतिस्थापन गर्ने, सामुदायिक विद्युत् वितरण प्रणाली व्यवस्थित बनाउने तथा बाढीपहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा ध्यान दिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।













प्रतिक्रिया दिनुहोस्