काठमाडौँ, मङ्सिर १२ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले मङ्सिर १३ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो।
पहिरो रोकथामका क्रममा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै उक्त समयमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिनुभयो।
तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले विशेष प्रविधि अपनाएर काम अघि बढाउन लागेको हो। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा समेत पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका उपाय अपनाउन लागिएको हो।
कामका क्रममा ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि प्रयोग गरिनेछ। त्यसैगरी भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ र बायोइन्जिनियरिङ प्रविधिसमेत अपनाइने सडक डिभिजन कार्यालयले जनाएको छ।
सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माका अनुसार पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिनेछ। स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय पनि अवलम्बन गरिनेछ।
गत असोजदेखि रोकिएको पहिरो रोकथामको काम पुनः अघि बढाउन लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा तुइनखोलामा पनि काम गरिएको र कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलाको काम रोकिएको शर्माले बताउनुभयो।
उहाँका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने देखिएको छ। तर, प्राविधिक मूल्याङ्कनपछि कामका लागि आवश्यक समय निर्धारण गरिनेछ।
यसैबीच, पृथ्वी राजमार्गको मुग्लिननजिक घोप्टेभीरमा भइरहेको काम भोलिसम्म सकिने र त्यसपछि राजमार्ग सञ्चालनमा आउने शर्माले जानकारी दिनुभयो। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाइनेछ।
काठमाडौँबाट मुग्लिन–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै प्रशासनले सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्