जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार ०९:१५

भारतको सहयोगमा मुस्ताङमा निर्मित दिव्य दीप माविको छात्रावास भवन उद्घाटन


काठमाडौँ, मङ्सिर १२ । भारत सरकारको सहयोगमा मुस्ताङको लोमन्थाङ गाउँपालिका–२ मा निर्मित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन उद्घाटन गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले शुक्रबार संयुक्त रूपमा छात्रावास भवन उद्घाटन गर्नुभएको हो।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त भवन लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो।

उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्षसहितका सरोकारवालाले भारत सरकारले उपलब्ध गराएको विकास सहयोगको प्रशंसा गर्नुभयो। नयाँ पूर्वाधारले विद्यार्थी तथा शिक्षकका लागि सिकाइको वातावरण सुधार गर्न सहयोग पुग्ने उहाँहरूको विश्वास थियो।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले नेपालका सातवटै प्रदेश समेट्ने गरी हालसम्म ६०५ वटा परियोजना अघि बढाएको भारतीय राजदूतावासले जनाएको छ। त्यसमध्ये गण्डकी प्रदेशमा ६४ वटा परियोजना सञ्चालनमा छन्, जसमा मुस्ताङ जिल्लाका १८ वटा परियोजना रहेका छन्।

यसका अतिरिक्त भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। तीमध्ये मुस्ताङमा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस उपलब्ध गराइएको छ।

भारतीय राजदूतावासले विज्ञप्तिमार्फत नेपाल र भारतबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहेको जनाएको छ। उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत प्राथमिकताका क्षेत्रमा पूर्वाधार विस्तार तथा विकास र समृद्धि प्रवर्द्धन गर्ने नेपाल सरकारको प्रयासमा भारतको सहयोग निरन्तर रहने पनि विज्ञप्तिमा उल्लेख छ।