विराटनगर, मङ्सिर १२ । गृहमन्त्री सुधन गुरुङ मध्यराति आफैँ स्कुटर चलाउँदै भारतसँगको सीमावर्ती जोगबनी नाकाको अवलोकन गर्न पुग्नुभएको छ ।
शुक्रबार साँझ विराटनगर विमानस्थलमा ओर्लिनुभएका गृहमन्त्री गुरुङलाई गुरुङ समुदायका प्रतिनिधिहरूले स्वागत गरेका थिए । उहाँ मोरङका प्रमुख जिल्ला अधिकारीको गाडीमा विमानस्थलबाट बाहिरिनुभएको थियो ।
विमानस्थलमा सञ्चारकर्मीहरूले शेरबहादुर देउवा र प्रचण्डको घरमा जलेको भनिएको पैसाको अनुसन्धानबारे प्रश्न गर्दा उहाँले ‘सबै कुरा तपाईंहरूलाई किन भन्नू’ भन्दै जवाफ दिनुभएको थियो ।
विराटनगर पुगेपछि उहाँ रानीस्थित प्रदेश प्रहरी कार्यालय पुग्नुभएको थियो । प्रहरी स्रोतका अनुसार उहाँले रात प्रदेश प्रहरी कार्यालयमै बिताउनुभएको थियो । सुनसरीमा हुने गुरुङ समुदायको कार्यक्रममा सहभागी हुन उहाँ विराटनगर आएको बताइएको छ ।
प्रदेश प्रहरी कार्यालय पुगेपछि गृहमन्त्री गुरुङ आफैँ स्कुटर चलाएर जोगबनी नाकासम्म पुग्नुभएको थियो । मध्यराति उहाँले सुरक्षामा खटिएका पीएसओलाई पछाडि राखेर सीमावर्ती नाकाको अवलोकन गर्नुभएको थियो ।
गृहमन्त्री स्वयं स्कुटर चलाउँदै मध्यराति सीमावर्ती नाकासम्म पुगेपछि उहाँको भ्रमण चर्चाको विषय बनेको छ । तर भ्रमणको उद्देश्य र त्यसक्रममा भएका गतिविधिबारे औपचारिक विवरण सार्वजनिक भएको छैन ।













प्रतिक्रिया दिनुहोस्