जनता टाइम्स

१२ मंसिर २०८३, शनिबार २०:२१

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा


काठमाडौं, मंसिर १२ । आईसीसी पुरुष टी–२० विश्वकप क्वालिफायर प्लेअफ २०२६ का लागि सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ तारिखसम्म नेपालमा आयोजना हुने प्रतियोगिताका लागि शनिबार टोली सार्वजनिक गरेको हो ।

घोषित टोलीमा कप्तान सन्दीप लामिछानेसहित आसिफ शेख, अर्जुन कुमाल, डा. ईशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, रसिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी र अभिशेष गौतम रहेका छन् ।

प्रतियोगितामा आयोजक नेपालसहित युगान्डा, जर्सी, इटाली, कुवेत, संयुक्त अरब इमिरेट्स (यूएई), नामिबिया र क्यानडासहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

घरेलु मैदानमा आयोजना हुने प्रतियोगितामार्फत नेपालले विश्वकप छनोटको अर्को चरणमा स्थान बनाउने लक्ष्य राखेको छ ।