जनता टाइम्स

१३ मंसिर २०८३, आइतबार ०७:३५

रास्वपाभित्र शक्ति संघर्ष चर्कियो, प्रधानमन्त्री–सभामुख दूरीले संसद् अधिवेशन अन्योलमा


काठमाडौं, १३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको शक्ति संघर्षले सरकार र संसद्को कामकारबाही प्रभावित हुन थालेको छ । पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहबीच बढ्दो अविश्वासको असर प्रधानमन्त्री शाह र सभामुख डोलप्रसाद अर्यालबीचको सम्बन्धमा समेत देखिएको छ ।

पार्टी सञ्चालन र सरकारको कार्यविभाजनबारे सहमति भए पनि पछिल्लो समय लामिछाने र शाहबीच तिक्तता बढ्दै गएको नेताहरूको भनाइ छ । एकअर्काको राजनीतिक भूमिकाप्रति आशंका बढ्दा पार्टीभित्र शक्ति सन्तुलनको विषय पेचिलो बनेको उनीहरू बताउँछन् ।

सभामुख अर्याल पार्टी स्थापनादेखि नै सक्रिय रहनुभएको र लामिछाने कारागारमा रहँदा पार्टीको नेतृत्वसमेत सम्हाल्नुभएको थियो । पार्टी संगठन र संसदीय दलमा उहाँको प्रभाव बलियो रहेको नेताहरूको भनाइ छ । लामिछानेको सहकारी ठगीसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले पार्टीभित्र नेतृत्व संकट आए अर्यालको भूमिका निर्णायक हुन सक्ने चर्चा पनि सुरु भएको छ ।

केही नेताहरूले अर्याललाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने सम्भावनाबारे समेत पार्टीभित्र छलफल भइरहेको दाबी गरेका छन् । यही कारण प्रधानमन्त्री शाह सभामुखप्रति सशंकित बनेको आरोप उनीहरूले लगाएका छन् । यद्यपि, यस विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।

मलेसिया पठाउने नाममा नेपाली श्रमिकसँग भएको ठगी प्रकरणले पनि प्रधानमन्त्री र सभामुखबीचको सम्बन्ध थप चिस्याएको रास्वपाका नेताहरूको बुझाइ छ । उक्त प्रकरणमा पूर्वमन्त्री, पूर्वमुख्यसचिव तथा मन्त्रालयका तत्कालीन अधिकारीहरू पक्राउ परेर अनुसन्धान भइरहेको छ । यसमा सभामुख अर्याल र तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीमाथि पनि अनुसन्धान हुनुपर्ने माग उठिरहेको छ ।

तर, सभामुखनिकट नेताहरूले पूर्ववर्ती सरकारको निर्णय कार्यान्वयन भएको विषयलाई जोडेर अर्यालको छवि कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

यसैबीच, संसद्को आगामी अधिवेशन आह्वान गर्ने विषय पनि अन्योलमा परेको छ । प्रतिपक्षी दलहरूले अधिवेशन बोलाउन दबाब दिइरहेका बेला सभामुख अर्यालले मंसिरको दोस्रो सातासम्म अधिवेशन आह्वानका लागि सिफारिस गर्ने तयारी गर्नुभएको थियो । यसबारे प्रधानमन्त्री कार्यालयलाई समेत जानकारी गराइएको स्रोतको भनाइ छ ।

तर, प्रधानमन्त्री शाहले सभामुखको प्रस्तावमा चासो नदेखाएको र अधिवेशनबारे छलफल गर्न भेटसमेत नगरेको स्रोतले दाबी गरेको छ । प्रधानमन्त्री र सभामुखबीच प्रत्यक्ष छलफल हुन नसक्दा अधिवेशन कहिले आह्वान हुने भन्ने विषय अनिश्चित बनेको छ ।

प्रधानमन्त्री शाहले बिहीबार पार्टी सभापति लामिछानेसँग र शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नुभएको थियो । लामिछानेको सचिवालयले प्रधानमन्त्रीसँगको भेटमा संसद्को आगामी अधिवेशनबारे पनि छलफल भएको जनाएको छ । राष्ट्रपतिसँगको भेटमा संसद्, सरकार र अध्यादेशका विषयमा कुराकानी भएको सचिवालयको भनाइ छ ।

प्रधानमन्त्रीको सचिवालयसँग जोडिएको इनम सापकोटा प्रकरणले पनि संसद्मा प्रश्न उठ्ने सम्भावना रहेको भन्दै रास्वपाकै एक सांसदले सरकार तत्काल अधिवेशन बोलाउन अनिच्छुक देखिएको दाबी गरेका छन् । सापकोटाले मानवअधिकार आयोगमा दिएको निवेदनमा आफ्नो मोबाइल अनधिकृत रूपमा प्रहरीबाहिरका व्यक्तिको नियन्त्रणमा राखिएको र विभिन्न व्यक्तिविरुद्ध जबर्जस्ती बयान दिन लगाइएको विषय उल्लेख गरेको समाचारमा जनाइएको छ ।

रास्वपाभित्रको आन्तरिक शक्ति संघर्ष, प्रधानमन्त्री र सभामुखबीचको दूरी तथा सरकारसँग जोडिएका विवादका कारण संसद्को आगामी अधिवेशन कहिले सुरु हुन्छ भन्ने विषय थप अनिश्चित बनेको छ ।