काठमाडौं, मंसिर १३ । म्यानमारको सैन्य सरकारले विभिन्न स्थानमा गरेको हवाई आक्रमणमा विवाह समारोहका सहभागी, विद्यार्थी र शिक्षकसहित ५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ ।
दक्षिणी शान राज्यको मोए ब्ये गाउँमा शनिबार दिउँसो विवाह समारोह भइरहेको स्थानमा सेनाले हवाई आक्रमण गर्दा कम्तीमा २१ जनाको मृत्यु भएको उद्धारकर्मीले बताएका छन् । घटनामा ३५ जना घाइते भएका छन् ।
यसअघि बिहीबार मध्य म्यानमारको माग्वे क्षेत्रस्थित इन योन गाउँको एक विद्यालयमा सेनाले हवाई आक्रमण गरेको थियो । निर्वासित नेसनल युनिटी गभर्नमेन्ट (एनयूजी)का अनुसार उक्त आक्रमणमा विद्यार्थी, युवा भिक्षु र शिक्षकसहित कम्तीमा २० जना सर्वसाधारण मारिएका थिए ।
त्यस्तै, शनिबार साँझ पश्चिमी म्यानमारको रखाइन राज्यस्थित म्राउक–यू सहरको आवासीय क्षेत्रमा पनि सेनाले बम खसालेको थियो । उक्त आक्रमणमा १० जनाभन्दा बढीको मृत्यु भएको र करिब २० जना घाइते भएको बताइएको छ ।
म्राउक–यू सहर अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्र हो । म्यानमारको सैन्य शासनविरुद्ध लडिरहेको यो समूह शक्तिशाली जातीय सशस्त्र समूहहरूमध्ये एक हो । पछिल्ला आक्रमणबारे सैन्य सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।
सन् २०२१ मा निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सेनाले सत्ता कब्जा गरेपछि म्यानमारमा गृहयुद्ध जारी छ । त्यसयता सेनाले प्रतिरोधी समूहको प्रभाव रहेका क्षेत्रमा नियमित हवाई आक्रमण तथा स्थल कारबाही गर्दै आएको छ ।
रोहिंग्या अल्पसंख्यक समुदायमाथि नरसंहार गरेको आरोपमा अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ भइरहेका बेला पछिल्ला आक्रमण भएका हुन् । सन् २०१७ मा सेनाको कारबाहीमा हजारौँ रोहिंग्याको मृत्यु भएको थियो भने सात लाखभन्दा बढीले देश छाड्नुपरेको थियो । म्यानमारले भने नरसंहारको आरोप अस्वीकार गर्दै आएको छ ।













प्रतिक्रिया दिनुहोस्