जाग्रेब, पुस २१
क्रोएसियाको राष्ट्रपतिमा पूर्व प्रधानमन्त्री जोरन मिलानोभिक निर्वाचित हुनुभएको छ । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको दोस्रो चरणबाट उहाँ निर्वाचित हुनुभएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अधिकारीहरुले ९९ प्रतिशत मत गणना भइसक्दासम्म मिलानोभिकले ५२.७ प्रतिशत मत ल्याएकाले उहाँ निर्वाचित भएको बताएका हुन् ।आइतबार सार्वजनिक भएको निर्वाचनको मत परिणामअनुसार मिलानोभिकका प्रतिद्धन्द्धी तथा निवर्तमान राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले ४७.३ प्रतिशत मत पाउनु भएको छ ।
पहिलो चरणको निर्वाचनमा कुल ११ जना उम्मेदवार प्रतिश्पर्धामा रहेका थिए । उनीहरु मध्ये धेरै ल्याउने दुई जनाका बीचमा दोस्रो चरणमा प्रतिश्पर्धा गराइएको हो । पहिलो चरणको निर्वाचत गत डिसेम्बर २२ तारिखमा भएको थियो । राष्ट्रपतिमा निर्वाचित हुनुभएका मिलानोभिकलाई ‘सोसल डेमोक्र्याटिक पार्टी (एसडीपी)’ र अन्य केही पार्टीहरुको समर्थन रहेको थियो ।
उहाँसँग प्रतिश्पर्धा गर्नुभएकी ग्राबरलाई भने सत्तारुढ दल क्रोएसियन डेमोक्र्याटिक युनियन (एचडीजेड) को समर्थन रहेको थियो ।मतदानका लागि योग्य करिब ३८ लाख मतदातामा ५५ प्रतिशतले मात्रै मतदान गरेका निर्वाचन आयोगले जनाएको छ । क्रोएसियामा हरेक पाँच पाँच वर्षमा राष्ट्रपति चयनका लागि निर्वाचन हुने संवैधानिक व्यवस्था रहेको छ ।
आइतबार राती राष्ट्रपतिमा निर्वाचित भएको घोषणा भएपछि नवनिर्वाचित राष्ट्रपति मिलानोभिकले सवै नागरिकको आवाज सुन्ने र सवैको प्रतिनिधित्व गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । निर्वाचनमा पराजित भएकी ग्राबरले पनि निर्वाचित मिलानोभिकलाई बधाई दिनुभएको थियो । नवनिर्वाचित राष्ट्रपति मिलानोभिक ५३ बर्षको हुनुहुन्छ भने सन् २०११ को डिसेम्बरदेखि २०१६ को जनवरीसम्म प्रधानमन्त्री हुनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्