शरद शर्मा / काठमाडौं
सरकारले १० लाख युवालाई परिचालन गर्ने लक्ष्यसहित ल्याएको ‘युवा परिचालन वर्ष’ का लागि छुट्टै बजेट नभएपछि सञ्चालनमा समस्या भएको छ । युवा तथा खेलकूद मन्त्रालयले दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) र युवा परिचालन वर्र्षका लागि छुट्टै बजेट अभावका कारणले सो कार्यक्रम अझै सञ्चालन हुन नसकेको हो ।
मन्त्रालयका युवा परिचालन तथा परामर्श शाखा प्रमुख एवम् उपसचिव कृष्णप्रसाद बस्याल युवा परिचालन वर्षका लागि छुट्टै बजेट विनियोजन नभएकोले के कसरी युवालाई परिचालन गर्न भन्नेमा समस्या आएको बताउनुभयो । छुट्टै बजेट नभएपछि मन्त्रालयको पहिले सञ्चालन भएको युवासम्बन्धी कार्यक्रममा नै समावेश गरेर परिचालन वर्ष सञ्चालन गर्ने योजना रहेको छ ।
“परिचालन वर्ष भनेर छुट्टै नै बजेट आएको छैन, त्यसैले हामीले कुन क्षेत्रमा कसरी युवालाई परिचालन गर्ने भन्ने समस्या भयो”, उहाँले भन्नुभयो, “अब भने पहिले गरिने युवासम्बन्धी कार्यक्रममा नै परिचालन वर्षका कार्यक्रमलाई समेटेर सञ्चालन गर्ने तयारीमा रहेका छौं ।”
बजेट नआए पनि मन्त्रालयले परिचालन वर्षमा १६ देखि २४ वर्ष उमेर समूहका १० लाख युवालाई कृषि उत्पादनमा युवा, पर्यटन प्रवद्र्धनमा युवा, सार्वजनिक शिक्षा सवलीकरणमा युवा, वातावरण संरक्षणमा युवा, अन्धविश्वास लैङ्गिक हिंसा जातीय विभेद तथा छुवाछूतविरुद्ध युवा, उद्यमशीलतामा युवा र सुशासनमा युवा कार्यक्रम गरेर परिचालन गर्ने योजना बनाएको छ ।
उपसचिव बस्यालका अनुसार साउनदेखि नै युवा परिचालनका कार्यक्रम सञ्चालन भइरहेका भए पनि युवाका क्षेत्रमा विशिष्टकृत कार्यक्रम सञ्चालनमा भने बजेट अभावले समस्या भएको हो । अहिले युवासम्बन्धी कार्यक्रममा नै परिचालन वर्षलाई समेट्ने निर्णय गरेसँगै विशिष्टकृत कार्यक्रमको पहिचान गरिएको छ ।
मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा गठित युवा परिचालन कार्यक्रम मस्यौदा समितिले युवासँग काम गर्ने मन्त्रालय, सङ्घ सस्थाका प्रतिनिधिसँग छलफल गरेर परिचालन वर्र्षमा के–कस्ता विशिष्टकृत कार्यक्रम सञ्चालन गर्ने भनेर प्रतिवेदनसमेत तयार पारेको छ । उक्त प्रतिवेदनका आधार युवालाई परिचालन गरिने तयारी रहेको उपसचिव बस्यालले जानकारी दिनुभयो ।
सरकारले राष्ट्रिय युवा नीति–२०७२ र युथ भिजन–२०२५ सहित १० वर्षे रणनीतिक योजनामा समेटिएका युवाका कुरालाई लक्षित गरेर परिचालन वर्ष सञ्चालन गर्ने योजनामा रहेको छ । नीतिमा सार्थक सहभागिता, क्षमता र नेतृत्व विकासका माध्यमबाट युवालाई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै समृद्ध, आधुनिक र न्यायपूर्ण नेपाल निर्माण गर्ने युवाको भूमिका तथा उनीहरुमा रहेको अन्तर्निहित क्षमतालाई गुणात्मक बनाउनुरहेको छ ।
यस्तै युथ भिजनले युवाको शिक्षा, रोजगारी, स्वास्थ्य र सामाजिक सुरक्षा, सहभागिता र नेतृत्व विकास तथा खेलकूद र मनोरञ्जन क्षेत्रमा विकास गर्ने लक्ष्य लिइएको छ । यसैगरी विपद् व्यवस्थापन तथा स्वयंसेवकीय कार्यमा युवा परिचालन, परम्परागत सीपको विकास तथा संरक्षणमा युवा र स्वस्थ्य तथा खेल सचेतनामा युवालाई परिचालन गर्नेछ ।
राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले युवालाई कुन–कुन क्षेत्रमा परिचालन गर्ने भन्नेमा मन्त्रालयले योजना बनाएकाले चाँडै नै कार्यक्रम शुरु गरिने बताउनुभयो । उहाँले कार्यविधि र कार्यक्रम बनाउन समय लागेकाले युवालाई परिचालन गर्न ढिला भएको जानकारी दिनुभयो । “यस वर्ष हामीले परिचालन वर्र्षको विषयवस्तु मात्र तय गर्ने छौँ”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि सधैँभरि युवालाई सामाजिक काममा लगाउनका लागि दीर्घकालीन योजना बनाएका छौं ।”
उहाँले यही पुस मसान्तसम्म युवालाई परिचालन गर्ने क्षेत्र पहिचान गरेर माघमा केन्द्रमा तथा फागुनमा प्रदेश र सबै स्थानीय तहमा परिचालन वर्षको सन्देश दिँदै कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो । सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत युवा परिचालन वर्ष घोषणा गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्