जनता टाइम्स

४ माघ २०७६, शनिबार १६:३७

सत्य निरुपणमा भट्ट र मेलमिलापमा सुवेदी सिफारिस, यसरी मिल्यो भागबण्डा


काठमाडौं, माघ ४

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित चार÷चार सदस्य नियुक्तिका लागि नाम सिफारिस भएको छ ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र संयोजकत्वको समितिले शनिबार बैठक गरी दुबै आयोगमा पूर्णता दिन नाम सिफारिस गरेको हो । सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्षका लागि गणेशदत्त भट्टको नाम सिफारिस भएको छ । यो आयोगमा एक सदस्य कांग्रेसले पाउनेछ । जसका लागि प्रचण्डमान श्रेष्ठको नाम सिफारिस भएको स्रोतको भनाइ छ । उक्त आयोगमा नेकपा तर्फबाट गोविन्द गौतम, विष्णु पोखरेल र मन दाहालको नाम सिफारिस छ ।

बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग नेकपाले लिएको हो । जसको अध्यक्षका लागि युवराज सुवेदीको नाम सिफारिस भएको छ । स्रोतका अनुसार सदस्यमा नेकपाबाट विष्णु भण्डारी छन् भने उक्त आयोगमा कांग्रेस निकटका सुनिल सिंह, सरिता थापा र गंगाधर अधिकारीको नाम सिफारिस भएको छ । सिफारिस भएका नाम अब बस्ने मन्त्रिपरिषद बैठकले पारित गरेपछि नियुक्त हुनेछन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव कमलराज गौतमले विज्ञप्ति निकालेर दुबै आयोगका लागि अध्यक्षसहित पाँच–पाँच जना सदस्यका लागि नाम सिफारिस गरिएको उल्लेख गरेका छन् । गौतमका अनुसार पदाधिकारीका नाम सिफारिससहित प्रतिवेदन शनिबार अपरान्ह कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालमार्फत् सरकारलाई बुझाइएको छ ।

नाम सिफारिस गर्नुअघि शनिबार विहान नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । उक्त छलफलमा ऐन संशोधनका लागि विधेयक सदनमा पेश गर्ने र सिफारिस समितिले पठाउने नाम स्वीकृत गर्ने दुई बुदे सहमति भएको थियो ।