जनता टाइम्स

६ फाल्गुन २०७६, मंगलवार १३:३९

कोरोना : उहान अस्पतालका निर्देशकको मृत्यु


बेइजिङ, फागुन ६

कोरोना जीवाणुको महामारीको केन्द्रका रुपमा रहेको उहानस्थित अस्पतालका निर्देशकको मङ्गलबार मृत्यु भएको छ । गत वर्षको अन्त्यतिर उहानमा उत्पत्ति भएको ठानिएको कोविड–१९ जीवाणुका कारण चीनमा मात्र एक हजार ९०० को मृत्यु भइसकेको छ भने ७२ हजारभन्दा बढी मानिस सङ्क्रमित भएका छन् ।

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले मृत्यु हुने चिकित्सक उहानस्थित उचाङ अस्पतालका निर्देशक लिउ झिमिङ रहनु भएको जनाएको छ । उहाँलाई बचाउन भरमग्दूर प्रयास गरिए पनि नसकिएको अस्पतालको भनाई छ । उहाँ कोरोना जीवाणुका कारण मृत्यु हुने पहिलो उच्च पदाधिकारी एवं चिकित्सक हुनुहुन्छ ।

यही प्राणघातक जीवाणुका कारण उहानमा कम्तीमा छ जना स्वास्थ्यकर्मीको ज्यान गइसकेको छ भने एक हजार ७१६ जना सङ्क्रमित भएका छन् । यसअघि कोरोना जीवाणुका बारेमा पहिलो जानकारी दिने उहानकै नेत्ररोग विशेषज्ञ डा. ली वेनलियाङको मृत्यु भएको थियो । उहानका चिकित्सकहरूले मास्क र शरीरमा लगाउने विशेष सुरक्षा कपडाको अभाव झेलिरहेको बताइन्छ ।