जनता टाइम्स

२२ फाल्गुन २०७६, बिहीबार १६:३२

प्रधानमन्त्री ओली र समीक्षाको स्वास्थ्य अपेक्षाकृत सुधार


काठमाडौं, फागुन २२

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार आएको अस्पतालले जनाएको छ । उहाले आज विहान तरल र नरम खानेकुरा खान दिन शुरु गरिएको छ । अस्पतालले आज एक विज्ञप्ती निकालेर प्रत्यारोपण गरिएको मिर्गौलाले राम्रोसँग काम गरिरहेको बताएको छ ।

‘मिर्गौला प्रत्यारोपण गरिएको आज दोस्रो दिन, उहाको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार देखिएको छ । प्रत्यारोपित मिर्गौलाले पनि सामान्य रुपमा कार्य गर्न थालिसकेको छ’, अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.प्रेम कृष्णा खड्गाद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘उहाका सबै ‘भाइटल’ तथा ‘ल्याव’ सूचकहरु सामान्य अवस्थामा रहेका छन् । उहालाई आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिएको छ ।’

उहाको होस बुधवार साँझमै आएको र अहिले उनी अडेस लागेर बस्न र आफैँ कोल्टे फेर्न सक्ने अवस्थामा हुनुहुन्छ । प्रत्यारोपणको नेतृत्व गर्नुभएका प्रा. डा. प्रेमराज ज्ञवालीका अनुसार अहिले चलाइएका औषधिका कारण ओली प्राय निदाउने गर्नुभएको छ । तर बिउँझिएका बेला उहा चिकित्सकहरूले सोधेको प्रश्नको उत्तर दिन सक्ने वा आफूलाई केही लागे भन्न सक्ने अवस्थामा हुनुहुन्छ ।

यसैगरी प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था स्थिर रहेको उल्लेख छ । ‘प्रधानमन्त्रीज्यूकी मिर्गौलादाता समीक्षा संग्रौलाजीको पनि स्वास्थ्य स्थिति स्थिर छ र उहाँलाई पनि आजदेखि तरल तथा नरम आहार दिन शुरु गरिसकिएको छ’, विज्ञप्तीमा भनिएको छ ।