काठमाडौं, फागुन ३० । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले नेपालको परीक्षण विश्वसनीय रहेको बताउनु भएको छ । नेपालमा परीक्षण गरिएको रिपोर्टमा कुनै शंका नगर्न पनि उहाँले सुझाउनु भएको छ ।
श्रेष्ठका अनुसार यस्तो छ कोरोनाबारे नेपालको अवस्था
१. अहिलेसम्म नेपालमा चार सय ५० जना व्यक्तिको कोरोना परीक्षण गरिएको छ । त्यसमध्ये चार सय ४९ जनाको नेगेटिभ रिपोर्ट आएको छ । एकजनाको पोजेटिभ आएको थियो, उहाँको उपचार भयो । उहाँ घरमा स्वस्थ हुनुहुन्छ ।
२. कोरोना परीक्षण गर्ने हाम्रो ल्याबमा शंका नगर्न म सबैलाई अनुरोध गर्न चाहन्छु । किनकि, हाम्रो ल्याबको गुणस्तरको अनुगमन विश्व स्वास्थ्य संगठनले पनि गरिरहेको छ । उसले समेत मान्यता दिएकाले हामीले चिन्ता गर्नुपर्ने कारण केही पनि छैन ।
३. नेपालमा गरिएका परीक्षणको विश्वसनीयता जाँच्न हामीले संकलन गरेका नमुना वेलावेलामा हङकङ पनि पठाउने गरेका छौँ । यसमा विश्व स्वास्थ्य संगठनले हामीलाई सहयोग गरेको छ । अहिलेसम्म हङकङ पठाइएका नमुनामा त्यही नतिजा आयो जे नेपालमा थियो ।
४. सुरुमा चीनबाट आएका एकजना नेपालीमा पोजेटिभ भेटिएको थियो । उहाँको नमुना पनि हामीले हङकङ पठाएका थियौँ । हङकङबाट पनि पोजेटिभ आयो । अरूको यहाँ नेगेटिभ रिपोर्ट आएको छ, उताबाट पनि नेगेटिभ आयो । त्यसैले हाम्रो ल्याबमा समस्या छैन भन्नेमा निश्चिन्त छौँ ।
५. हरेक नयाँ ब्याचको कोरोना परीक्षण गर्दा सुरुमा पोजेटिभ भेटिएको नमुना पनि हामीले परीक्षण गरिरहेका छौँ । त्यो नमुना हरेकपटक पोजेटिभ नै आइरहेको छ । नयाँ संकलन गरिएका नमुना भने नेगेटिभ आएका छन् । त्यसैले पनि ल्याबको परीक्षण गुणस्तरीय छ ।
६. चीनको वुहानबाट उद्धार गरेर ल्याइएका एक सय ७५ यात्रु तथा चालक दलका सदस्यसहित दुई सयजनाको नमुना परीक्षण एकैपटक गरिएको थियो । उहाँहरू सबैको नेगेटिभ आयो । अहिलेसम्म परीक्षण गरिएकामध्ये एकजनाबाहेक सबैमा मौसमी रुघाखोकी तथा अन्य किसिमको फ्लु मात्र देखिएको छ, कोरोना देखिएको छैन ।
७. कोरोनाको विषयमा सतर्क हुन जरुरी छ । त्यसैले शंका लागेमा परीक्षण गर्न आउनूस् । तर, अहिले रुघाखोकीको समय हो भन्ने पनि बिर्सनु हुँदैन । त्यसैले आत्तिनु हुँदैन र अरूलाई पनि अत्याउनु हुँदैन । तर, शंका लागेमा परीक्षण गर्न भने ढिला गर्नुहुँदैन ।
प्रतिक्रिया दिनुहोस्