जनता टाइम्स

८ चैत्र २०७६, शनिबार ०९:५४

विदेशमा अलपत्र परेका नेपालीलाई सम्वन्धित दूतावासले उद्धार गर्ने


काठमाडौं, चैत ८

सरकारले विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार गर्ने भएको छ । उनिहरुलाई उद्धार गरेर नेपाल ल्याउने नभई सम्वन्धित देशकै दूतावासमा ल्याएर राखिने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ गरेको सम्वोधनका क्रममा पनि विदेशमा नेपाली अलपत्र परेको विषयमा आफु जानकार रहेको बताउदै सम्वन्धित निकायले त्यसमा काम गर्ने बताउनु भएको थियो । ‘मुलुक बाहिर ठूलो संख्यामा नेपाली दिदिबहिनी तथा दाजुभाईहरु रहँदै आउनु भएको छ । कोरोना भाइरसको महामारीका कारण तपाईहरुलाई मुलुक फर्किन केही असुविधा परेको मेरो जानकारीमा छ’, सम्वोधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यस घडीमा, नआत्तिन र चिन्तित नहुन आग्रह गर्दै आवस्यक पर्दा आफू रहेको देशको कुटनीतिक नियोगमा सम्पर्क राख्नु हुन आग्रह गर्दछु । हाम्रा नियोगहरुले तपाईहरुका समस्या हल गर्न सक्दो सहयोग गर्ने जानकारी गराउँदछु ।’

प्रधानमन्त्रीको सम्वोधन लगत्तै बसेको उच्चस्तरिय समितिको बैठकले सम्वन्धित नियोगबाटै उद्धारको प्रयास गर्ने निर्णय गरेको हो । त्यसका लागि मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा कार्यदल समेत बनाएको छ । कार्यदलले तत्कालै सबै नियोगसँग छलफल गरेर आवश्यक रणनीति बनाउने छ ।

बैठकपछि अर्थमन्त्री एंव सरकारका प्रवक्ता डा. युवराज खतिवडाले अलपत्र परेका नेपालीलाई उद्धार गरिने निर्णय भएको जानकारी दिनुभयो । ‘हामीले अन्तराष्ट्रिय उडान रोकिएको बेला केही यात्रुहरु विमानस्थलमै अलपत्र परेको भन्ने जानकारी आएको छ’, उहाले भन्नुभयो, ‘त्यसमा सम्वन्धित मन्त्रालयले राजदूतावाससँग छलफल गरेर उहाँहरुलाई सुरक्षित तरिकाले क्वारेन्टाइनमा राख्ने गरी हामीले व्यवस्था गर्नुपर्छ । यो विषयमा कार्यदलले काम गर्नेछ ।’

दूतावासले उद्धार गरेर उनिहरुलाई १४ दिन क्वारेन्टाइनमा राख्नेछ । यसैगरी भिषा समाप्त भएका नागरिकका हकमा भने समस्या समधान गर्न अधिकतम सहयोग पनि दूतावासले गर्ने निर्णय भएको छ ।