काठमाडौं, चैत ८ । कोरोना भाइरसको संक्रमण बढ्न नदिन सरकारले उच्च सतर्कता अपनाउँदै केही दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि काठमाडौं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । सरकारले चैत १० गतेबाट लामो दुरीको यातायातसमेत बन्द गर्ने निर्णय गरेपछि आज आठ घण्टामै एक लाख भन्दा बढीले उपत्यका छाडेका हुन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार, विहान ६ बजेदेखि १२ बजेसम्ममा एक लाख आठ हजार ६८५ जना काठमाडौंबाट बाहिरिएका छन् । विगतको तुलनामा यो संख्या निकै बढी रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताउनु भयो । चैत १० गतेबाट लामो दूरीका यातायातका साधन चल्न प्रतिवन्ध लगाउने भएपछि काठमाडौं छाड्ने बढेका हुन् । आज छ घण्टाको अवधिमा काठमाडौं प्रवेश गर्नेको संख्या भने १३ हजार मात्रै रहेको छ ।
हिजो दिनभरमा एक लाख ३० हजारले काठमाडौं उपत्यका छाडेका थिए । विहीबार एक लाख आठ हजार, बुधबार ९५ हजार, मंगलबार ९१ हजार, सोमबार ८८ हजार, आइतबार ८६ हजार र शनिवारका दिन ७१ हजारले काठमाडौं छाडेका थिए ।
प्रतिक्रिया दिनुहोस्