जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १२:१७

बालुवाटारमा मन्त्रिपरिषद् बैठक यस्ता छन् एजेण्डा


काठमाडौं, बैशाख २१

सरकारले वर्खे अधिवेशन आव्हान गर्ने तयारी गरेको छ । त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकमा नियमित प्रस्तावमाथि निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले संसद्को बर्खे अधिवेशन आह्वान गर्ने सम्भावना रहेको एक मन्त्रीले जानकारी दिनुभयो । सम्भवत बैशाख २८ गते अधिवेशन आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको छ । जेठ १५ गते बजेट ल्याउने पर्ने संवैधानिक प्रावधानका कारण वैशाख मसान्तभित्रै अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

त्यस्तै आजको बैठकले लकडाउनको मोडालिटी बनाउन उच्चस्तरीय समितिलाई निर्देशन दिन सक्ने समेत बुझिएको छ । सरकारले वैशाख २५ गतेसम्म गरेको लकडाउनलाई खुकुलो बनाउने की के गर्ने भन्नेबारेमा छलफल हुनेछ । हवाइ उडान र उत्तर र दक्षिणतर्फका सीमा नाका बन्द राखेर मुलुकभित्र ठाउ र अवस्था हेरी खुकुलो बनाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय सभा सदस्यमा डा. युवराज खतिवडाको नाम सिफारिस गर्न सक्ने बताइएको छ । हिजो नेकपाको सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई प्रतिनिधिसभा सदस्य बनाउन उपयुक्तमा उम्मेदवार बनाउने निर्णय गरेकाले खतिवडाको नाम सर्वसम्मत भएको हो । खतिवडाको दुई वर्षे कार्यकाल फागुनमा सकिएपछि उहा अहिले संघीय संसदको सदस्य हुनुहुन्न । ६ महिना भित्र सदस्य बन्नुपर्ने प्रावधान रहेकाले उहालाई सरकारले सिफारिस गर्न लागेको हो ।