विराटनगर, बैशाख ३०
भारतले सहमति विपरित धमाधम नेपालीलाई दशगजामा ल्याएर छाड्न थालेको पुष्टि भएको छ । दशगजामात्र होइन् नेपाली सीमाभित्रै ल्याएर छाडिदिएको घटना सार्वजनिक भएको छ । दुई देशका सरकारबीच भएको सहमति विपरित भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई नेपालतर्फ पठाउने गरेका हुन् ।
सोमबार राति भारतीय सुरक्षाकर्मीले जोगबनी नाकाबाट १५ जना युवालाई विराटनगरतर्फ छिराएको खुलेको छ । नेपाल प्रवेश गरेका झापा, मोरङ र सुनसरीका ती युवाहरुलाई रोकेर राखेको र सम्बन्धित स्थानीय सरकारहरुलाई खबर गरेर पठाउने तयारी भएको प्रहरीले बताएको छ । नेपाल पठाएका ति युवालाई प्रहरीले भेटाएपछि सो रहस्य खुलेको हो ।
भारत उत्तर प्रदेशको नोएडा शहरबाट ११ दिन यात्रा गरेर सुनसरी गढी गाउँपालिकाका ६, इटहरीका २, धरानका १ र मोरङ सुन्दर हरैंचाका २ युवा जोगबनी आएका थिए ।यस्तै, झापा सुरुङ्गा घर भएका ४ युवा पनि बिहारको छप्राबाट साइकलबाट तीन दिनको यात्रामा जोगबनी आएका थिए । सोमबार बेलुका जोगबनी आएका उनीहरुलाई भारतीय सुरक्षाकर्मीले राति नेपालतर्फ प्रवेश गराएका हुन् । दुई दिनअघि पनि भारतीय सुरक्षाकर्मीले छाडेका युवाको समूह झापा छिरेको थियो ।
सहमति विपरीत भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई नेपाल प्रवेश गराए पनि नेपालतर्फ अलपत्र परेका भारतीयलाई भने आफ्नो मुलुकमा जान दिने गरेका छैनन् । सोमबार धरानको बीपी प्रतिष्ठानमा पेटको शल्यक्रिया गरेर आएका भारतीय बिरामीलाई भने भारतीय सुरक्षाकर्मीले जोगबनी नाकाबाट नेपालतर्फ नै फर्काएको थियो ।
प्रतिक्रिया दिनुहोस्