जनता टाइम्स

२८ जेष्ठ २०७७, बुधबार १५:२६

संसदको रोष्टमबाटै अर्थमन्त्री खतिवडाको चुनौती : अर्थ मन्त्रालयले सूचना चुहाएको प्रमाणित गर्नाेस


काठमाडौं, जेठ २८ । अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयले करको दरबारे सूचना चुहाएको प्रमाणित गर्न चुनौती दिनुभएको छ । आर्थिक बिद्येयकमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो चुनौती दिनुभएको हो ।

‘इमान्दारिता, निष्ठा र कुनै ब्यवसायिक घरानासँग जोडेर चरित्र हत्या गर्ने काम चाँहि नगरौं माननीयज्यूहरु, यस्ता आरोप कहिल्यै प्रमाणित गर्न सक्नुहुन्न,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले केही सांसद र केही ब्यक्तिहरुले लगाएको आरोप हेर्दा राजनीतिक निर्दयी हुन्छ भन्ने अनुभुति आफैले भोगेको अनुभुति पनि सुनाउनु भयो ।

‘केही ब्यवसायीक घरानासँग जोडेर पनि मेरो नियतमा प्रश्न उठाउनु भयो । मलाई राम्रोसँग चिन्ने माननीय मित्रले पनि प्रश्न उठाउनु भयो, बिपक्षी पार्टीको भएकोले होला, अन्यथा उहाँलाई नै थाह छ मेरो निष्ठा र कामबारे,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो, ‘अर्थ मन्त्रालयको नेतृत्व गरिरहँदा म र मन्त्रालयले कुनै ब्यवसायिक घरानाको हितमा काम गरेको छैन, कहिल्यै गर्ने छैन । यो मेरो प्रष्ट नीति हो ।’  उहाँले बिगतमा बजेटको अगाडि के के हुन्थ्यो भन्ने बुझेको कुरा अहिले नगर्न पनि चुनौती दिनुभयो ।

‘राजनीतिमा कोही पनि स्वच्छ हुन सक्दैन, कोही पनि इमान्दार हुन सक्दैन भन्ने कुरा त सही हुँदेन, समिति बनाइयोस, जाँच गरियोस, अर्थ मन्त्रालयले कुनैपनि सूचना चुहाएको छैन, यो ठोकेर भन्छु । तर बिगतमा हुन्थ्यो, करका दरहरु बाहिर बसेर परिवर्तन हुन्थे, यसपटक भएका छैनन,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले कसैको चरित्र हत्या गर्न चाहनेहरुलाई काम र समयले जवाफ दिने तर निष्ठालार्य ढाल्न नसक्ने बताउनु भयो । कसैले ढाँटन खोजे पनि ढाँटेर ढाँटन सकिन्न । यो कुरा सवैमा लागू हुन्छ, ब्यक्तिको निष्ठा र कुनै ब्यवसायिक घरानासँग जोडेर हिडने काम कृपया नगरौं माननीयज्यूहरु,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो ।