काठमाडौं, असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अतिक्रमित नेपाली भूमिसहितको नयाँ नक्सा छाप्यो भनेर आफूलाई प्रधानमन्त्रीबाट हटाउँछु भन्ने नसोच्न छिमेकी मित्रराष्ट्र भारतलाई सचेत गराउनु भएको छ । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो सुझाव दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफूलाई हटाउनका लागि नयाँदिल्लीका मिडिया, वौद्धिक बहस र काठमाडौंस्थित दूतावासका क्रियाकलाप र होटलहरूमा भइरहेका जमघटबाट आफूलाई हटाउन के–के भइरहेको छ भन्ने देखाइरहेको भन्दै यसबारे आफू जानकार रहेको खुलासा पनि गर्नुभयो । ‘यसअघि चीनसँग पारवहन सम्झौता गर्दा मेरो सरकार ढलेको थियो तर अहिले हाम्रो बहुमत छ, आफ्नो भूमिमा दाबी गरेर नक्सा छाप्ने, यस्तो अपराध गर्ने केपी ओलीलाई हटाउँछु भन्ने कसैले नसोचे हुन्छ,’ भारतलाई खुलेआम चुनौती दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँल आफूले अडान नलिए देशको पक्षमा बोल्ने भोलि कोही पनि नपाइने तथ्य पनि सुनाउनु भयो । ‘हटाउन कोशिस गर्नेलाई गर्न दिऔं, कसैले हतार नगरे हुन्छ । मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न मन छैन । यतिबेला म हट्ने हो भने नेपालका पक्षमा बोल्ने मान्छे हुन्न । आजका लागि होइन भोलिका लागि । आफ्ना लागि होइन देशका लागि ।’ प्रधानमन्त्री ओलीले नेपालकै कतिपयले नयाँ नक्सा छापेपछि नेपाललाई झन् गाह्रो हुने बताए पनि त्यस्तो केही गाह्रो नहुने प्रष्ट पार्नुभयो । ‘गाह्रो के हुन्छ ? जमिन गएको थियो, त्यो फिर्ता लिन खोज्दा गाह्रो भन्या के ? एक सय ४६ वर्षसम्म उपभोग गरेको जमिन १९६२ देखि उपभोग गर्न पाएनौं । ५८ वर्षदेखि खोसियो, हाम्रो जमिन हो । अरूको जमिन अतिक्रमण गरेको होइन, कुनै गल्ती गरिएको छैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
नेपालको नागरिकता खल्तीमा राखेर भारतको पक्षमा तर्क गर्नेहरू पनि नेपालमै भएको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि जनाउनु भयो । ‘खल्तीमा नेपाली नागरिकता छ, तर्क अर्काको पक्षबाट गरेको छ । १९६२ मा सेना राखेपछि कसरी त्यहाँका नागरिकसँग सम्बन्ध हुन्छ ? कालापानीमा सेना राखेर उता जानै दिएका छैनन । नागरिकता रासन कार्ड कसले दिएको छ ? त्यसबारे नेपालका नागरिकताधारीहरूले उठाइराखेका छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्