जनता टाइम्स

२३ असार २०७७, मंगलवार ०७:४६

युट्युबरको डरलाग्दो अपराध : परिवारकै हत्या गर्ने धम्की दिएर बालिकामाथि पटक–पटक बलात्कार


काठमाडौं, असार २३ । मिडिया र धर्मको नाममा आफूलाई स्थापित गर्दै आएका युट्युबरले सिंगै परिवार समाप्त पार्ने धम्की दिएर बालिकालाई पटक–पटक बलात्कार गर्दै आएको तथ्य खुलेको छ । प्रहरीले काठमाडौंको बानियाँटार निवासी १२ र १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरेपछि धर्मको आडमा बालिका बलात्कार जस्तो जघन्य अपराध बाहिर आएको हो ।

प्रहरीले बलात्कार अभियोगमा आफूलाई विश्व हिन्दु महासंघको पदाधिकारी र युट्युबर बताउने अर्जुन शिवाकोटीलाई केही दिनअघि पक्राउ गरेको हो । उनले घटना बाहिर ल्याए पीडित बालिकाको सिंगै परिवारलाई हत्या गर्ने धम्की दिएर करणी गर्दै आएको पीडित बालिकाको भनाइ उधृत गर्दै प्रहरीले जनाएको छ । अभियुक्त शिवाकोटीले आफ्नो स्थानीय प्रहरीसँग राम्रो चिनजान भएको बताउँदै धम्क्याएपछि बालिकाका बुबाआमा न्याय खोज्दै महानगरीय अपराध अनुसन्धान महाशाखा पुगेका थिए । अपराध महाशाखाले सो घटनाको अनुसन्धान गरी अभियुक्त शिवाकोटीलाई पक्राउ गरेको हो ।

‘यो घटनामा स्थानीय प्रहरी कहाँ जान पीडित परिवारले अफ्ठ्यारो मान्नु भएकाले हामीले अनुसन्धान गरेका हौं, जिल्ला अदालत, काठमाडौंबाट ७ दिन म्याद लिएर अनुसन्धान भइरहेको छ,’ महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्ष्ँक (एसएसपी) दिपक थापाले जनताटाइम्ससँग भन्नुभयो । एसएसपी थापाका अनुसार घटना संवेदनशील भएकाले महिला डीएसपीलाई खटाएर अनुसन्धान गरिएको थियो । परिवारका सदस्यले प्रहरीलाई दिएको जानकारी अनुसार बिरामी भएर सुतेको अवस्थामा पनि शिवाकोटीले छोरीमाथि कुकृत्य गरेका थिए । आमालाई घटनाबारे बताएपछि पनि शिवाकोटीले प्रहरी प्रशासनसँग चिनजान भएको बताउँदै उल्टै धम्क्याएको पीडितकी बुबाले प्रहरीलाई बताएका छन ।

पीडितका अनुसार आमा र बुबा बाहिर गएका बेला शिवाकोटीले यौन दुब्र्यवहार गर्ने गरेका थिए । एसएसपी थापाका अनुसार अभियुक्त शिवाकोटीले १४ वर्षीया बालिकालाई एक वर्ष अघिदेखि यौन शोषण गर्दै आएका थिए । पीडित बालिकाकी आमाले प्रहरीलाई दिएको जानकारी बलात्कारकै कारण ती बालिका डिप्रेशणको शिकार भएकी छन । उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, ग्राण्डी लगायतमा लगिए पनि समस्या समाधान भएको थिएन । तर, कान्छी छोरीलाई पनि शिवाकोटीले यौन दुब्र्यवहार गर्न थालेपछि आफूले घटनाबारे थाहा पाएको पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी दिनुभएको छ ।