जनता टाइम्स

२८ असार २०७७, आईतवार १५:१६

समुदायमा कोरोना छ कि छैन भन्ने परीक्षण रिपोर्ट : टोखाका तीन स्थानीयसहित चार जनामा संक्रमण, डिल्लीबजारका सवैमा नेगेटिभ


काठमाडौं, असार २८ । काठमाडौंको टोखा नगरपालिका–६, हरियाली बस्तीका तीन स्थानीयबासीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) टेकूले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनेर उपत्यकाका विभिन्न १२ स्थानबाट लिएको नमुना संकलनको रिपोर्ट आउँदा यस्तो तथ्य बाहिर आएको हो ।

इडिसीडीले १२ स्थानमा एक÷एक सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली बस्तीबाट समेत नमूना लिइएको थियो । ईडीसीडीका एक कर्मचारीका अनुसार हरियाली बस्तीबाट एक सय बढीको नमूना ल्याएर जाँच गर्दा तीन स्थानीयसहित चारजनामा कोरोना पोजेटिभ आएको छ । एक जना भने कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति हुन । ईडीसीडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केसहरुलाई आधार मानी उपत्यकाको १२ स्थानमा एक सयका दरले नमूना संकलन गरेको हो ।

यता काठमाडौँ महानगरपालिका वडा नं २९ डिल्लीबजार क्षेत्रबाट संकलित २ सय वटा नमुनाको पीसीआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । स्थानीयमा संक्रमण भेटिन थालेपछि ईडीसीडीले समुदायमा कोरोना भाइरसको स्थिति अध्ययन गर्न पाँच दिनभित्र उपत्यकामा पाँच हजार जनाको पीसीआर परीक्षण गर्ने भएको छ । त्यसको लागि गत बिहीबारबाट स्वाब संकलन सुरु गरिएको छ ।

परीक्षणका लागि हालसम्म कलंकीस्थित मालपोत कार्यालय, शहीद मेमोरियल अस्पताल, कृषि विकास बैंक, टेकुस्थित वाणिज्य बैंक, नेसनल किड्नी सेन्टर बालाजु, यातायात कार्यालय स्वयम्भू, नेपाल इन्भेष्टमेन्ट बैंक गोंगबु, नेपाल एसबीआई बैंक गोंगबु, मालपोत कार्यालय जगाती, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, क्यान्सर अस्पताल भक्तपुर, यातायात कार्यालय जगाती, चाबहिलस्थित मालपोत कार्यालय, सनराइज बैंक, ओम अस्पताल, हेल्पिङ्ग हेन्ड अस्पताल र मेडिकेयर अस्पतालका सेवा प्रदायक कर्मचारी र सेवाग्राहीको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वाब संकलनको काम अझै सकिएको छैन ।