जनता टाइम्स

९ श्रावण २०७७, शुक्रबार १६:१५

कोरोना भाइरस : सुर्तिजन्य पदार्थ सेवन गर्नेलाई छिटो संक्रमण, संक्रमित भइहाले मृत्युको जोखिम उत्तिकै


यसिमा महत

काठमाडौं

धुमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरूलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण छिटो हुने देखिएको छ । संक्रमणको जोखिम सुर्तीजन्य पर्दाथ सेवन कर्ताहरुमा बढी हुने गरेको पाएको हो । सुर्तीजन्य पदार्थबाट लाग्न सक्ने विभिन्न प्रकारका रोग तथा अन्य रोगहरुसँग लड्ने रोग प्रतिराधात्मक क्षमता अन्य व्यक्तिको तुलनामा कम हुने हुँदा कोरोनासँग लड्न धेरै नै समस्या हुन्छ ।

जसका कारण अन्य व्यक्तिको तुलनामा छिट्टै फैलन सक्ने हुँदा सुर्तीजन्य पर्दाथबाट टाढा रहन वीर अस्पतालमा कार्यरत बरिष्ठ मेडिकल अन्कोलोजिस्ट प्रा. डा. विष्णुदत्त पौडेल बताउनुहुन्छ । त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रकाशन गरेको प्रतिवेदन अनुसार, पनि कोरोना भाइरस (कोभिड–१९) को जोखिम सूर्ति सेवनकर्तामा बढी रहेको छ । त्यस्तै कोरोना संक्रमणको मृत्युदर हेर्दा सूर्तिजन्य पदार्थ सेवनकर्ताहरु नै बढी रहेको उदाहरण बढी छ ।

कोरोना लाग्ने सम्भावना बढी, संक्रमित भइहाले मृत्युको जोखिम

धुमपान गर्ने व्यक्तिहरुको शरीर अतिसंवेदनशील हुन्छ र गम्भीर रोगका संक्रमणहरुसँग लड्न असमर्थ हुन्छ । डा. पौडेलका अनुसार धुमपान गर्ने व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमणको सम्भावना अत्यधिक हुन्छ । उहाँले जुन व्यक्ति अत्यधिक मात्रामा धुमपान गर्छन्, उहाँहरुले यो कोरोना भाइरसको खतरालाई कम गर्न र सूर्तीसेवन छोड्नका लागि उचित समय भएको बताउनुभयो । सामान्य व्यक्तिभन्दा सूर्तीजन्य पदार्थ सेवनकर्तालाई कोरोना लाग्ने सम्भावना त्यत्तिकै भएको र यदी कोरोना संक्रमण देखिहाल्यो भने पनि मृत्यु हुने सम्भावना उत्तिकै रहेको उहाँले बताउनुभयो ।

सामान्य मानिसमा भन्दा उनीहरुहमा कोरोना भाइरसको गम्भीर लक्षणहरु देखा पर्ने सम्भावना धेरै हुन्छ । यता बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. अरुण शायमीका अनुसार महिलाले भन्दा बढी पुरुषले धुमपान, मदिरा सेवन तथा नशालु पदार्थको सेवन गर्ने हुँदा त्यस्ता पुरुषहरुको ‘इम्युनिटी पावर’रोगप्रतिरोधात्मक क्षमता कमजोर हुन्छ र भाइरसले आक्रमण गर्छ । उहाँले धुमपान छोडे कोरोना मात्र होइन अन्य धेरै संक्रामक तथा दीर्घ रोगबाट बच्न सकिने बताउनुभयो ।

नेपालमा हरेक वर्ष सुर्तिजन्य पदार्थ सेवनका कारण २७ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा कुल जनसङ्ख्याको करिब ७५ प्रतिशतले सूर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न ऐन ल्याएको ९ वर्ष बितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन । सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमत गर्नका लागि वि.सं. २०६८ मा नै ऐन ल्याएको थियो ।

उक्त ऐनमा ८ वर्षमुनिका व्यक्तिले बेचविखन गर्न नपाउने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्रै सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामूलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्नेलगायतका नियम छ । तर सरकारले उक्त नियमलाई वेवास्ता गर्दै कार्यान्वयन गराउन सकेको छैन ।

फोक्सोमा आक्रमण

अमेरिकाको क्यालिफोर्नियास्थित युनिभर्सिटीमा गरिएको अध्ययनमा धुमपान गर्ने व्यक्तिलाई कोरोना संक्रमण हुँदा मृत्यु हुने वा गम्भीर अवस्थामा पुग्ने सम्भावना बढी देखिएको पनि बीबीसीमा छ । धुमपान गर्नेहरुको रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ साथै धूवाँले फोक्सोलाई कमजोर बनाएको हुन्छ । कोरोनाको पहिलो आक्रमण फोक्सोमा नै गर्ने भएकाले श्वासप्रश्वास प्रणालीमा क्षति पुर्याउँछ।

डा। पौडेलका अनुसार सूर्तिजन्य पदार्थ प्रयोगले रोग प्रतिरोधात्मक क्षमता घटाउँछ, न्युमोनिया, क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज ९सीओपीडी०, ब्रोङकाइटिस, दमलगायत श्वासप्रश्वासजन्य समस्या निम्त्याउने कारक तत्व पनि धुमपान नै हो । सूर्तीजन्य पदार्थ सेवनले फोक्सोमा पहिल्यै क्षति गराइसकेको हुने हुँदा कोभिड–१९ ले फोक्सोलाई झन बढी असर गर्ने र मृत्युको मुखमै पुर्याउने सम्भावना बढी हुने उहाँले बताउनुभयो ।

एक जनाले सल्काउने दुई वा तिनजनाले खाने

सूर्तीजन्य पदार्थ सेवनकर्ताले आफू मात्र नभएर अन्य साथीभाइलाई समेत सेवन गर्न लगाउने हुँदा कोरोना संक्रमणको जोखिम उच्च भएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो,‘हाम्रो नेपालमा एक जनाले चुरोट सल्काउने अनि त्यहि चुरोट दुई वा तिन जनाले खाने गरिन्छ, त्यस्तै खैनी, गुट्का खाएर बाटो–बाटोमा पिच्च–पिच्च थुक्दै हिड्ने चलन छ यसले पनि संक्रमणको दर उच्च राख्छ ।’

उहाँले थप्नुभयो,‘कोरोना भाइरस संक्रमणको अध्ययनको निष्कर्ष अब भाइरस हावामा समेत आइसक्यो भनेको छ, यस्तो अवस्थामा अझ जोखिम बढ्छ । समयमा नै सबैले सचेत भएर आफू बाँच्ने र अरुलाई समेत बचाउँनुपर्दछ ।’