जनता टाइम्स

७ भाद्र २०७७, आईतवार ०७:५६

काठमाडौंका यी ठाउँमा देखियो परिवारभित्रै कोरोना संक्रमण फैलिएको डरलाग्दो घटना


काठमाडौं, भदौ ७ । काठमाडौंको कोटेश्वरमा एक परिवारका सदस्यमा कोरोनाको कुनै लक्षण थिएन । तर अचानक कोरोना संक्रमण देखिएपछि चकित बन्नुपर्यो । एउटा भेटघाट कार्यक्रममा सहभागी भएपछि एक जनालाई कोरोना संक्रमण पुष्टि भयो। कन्ट्याक्ट ट्रेसिङ गर्दा अवस्था भयावह देखियो । परिवारका थप चार जनामा पनि संक्रमण देखियो।

पछिल्लो समय काठमाडौं उपत्यकामा परिवारका सदस्यमै कोरोना संक्रमणका घटना ह्वात्तै बढेको छ । दर्जनौं स्थानमा यस्ता घटना देखिएको चिकित्सकहरुले बताएका छन । कोटेश्वरकै असर्फी गल्लीमा पनि एकै घरका नौ जनामा कोरोना पुष्टि भएको छ। अहिलेसम्म सो गल्लीका झण्डै ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ।

स्वास्थ्यकर्मीका अनुसार अनुसार सुरुमा बाहिरबाट आएका मानिसहरुमा संक्रमण देखिएपनि अहिले भने परिवारका सदस्यहरुमा स्थानीय संक्रमण फैलिएको पाइएको छ। परिवारको एकजनालाई संक्रमण देखिएर कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अरु ७–८ जनासम्म पनि संक्रमण देखिएको स्वाथ्यकर्मीको भनाई छ ।

कोटेश्वर जस्तै कोरोना प्रभावित अर्को क्षेत्र काठमाडौंको वडा नम्बर २७ स्थित भोटाहिटी, महाबौद्ध देखिएको छ । सो क्षेत्रमा पनि परिवारका एक सदस्यलाई भेटिएपछि परिवारमा परीक्षण गर्दा अरु सदस्यलाई पनि कोरोना पुष्टि भएको छ। वडासदस्य नरेशमान महर्जनले दिनुभएको जानकारीअनुसार सो क्षेत्रमा ९ परिवारका ३७ जना सदस्यमा कोरोना पुष्टि भइसकेको छ।

महाबौद्ध क्षेत्रमा भारतको सितामढीबाट आएका एकै परिवारका पाँच जनामै कोरोना पुष्टि भएको थियो। यस्तै भोटाहिटीमा व्यापार गरी बस्ने एक महिलालाई पुष्टि हुँदा उनको परिवारका ६ जनालाई नै संक्रमण देखिएको हो । महर्जनका अनुसार भोटाहिटी, महाबौद्ध क्षेत्रमा एक दर्जन व्यक्तिका परिवारमा संक्रमण भेटिएको छ । ‘व्यापारी, स्वास्थ्यकर्मी, कामदार लगायतलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा परिवारका अन्य सदस्यलाई पनि देखियो। संक्रमित परिवारको एक सदस्यको निधन पनि भइसकेको छ,’ वडासदस्य महर्जनको भनाई छ ।

यस्तै बालाजुमा एकै परिवारका चार जना, महाराजगञ्जमा आठ जना, बानेश्वरमा ९ जना, कोटाल टोलमा ५ जना, वडानम्बर ४ को मृत्यु भएका एक संक्रमितको घरका चार जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं महानगरपालिकाका कोरोना फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार महानगरमा परिवारभित्रै संक्रमण फैलिएको थुप्रै घटना पाइएको छ। परिवारका सदस्यबाट अन्य सदस्य र समाजमा संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले परिवारका सदस्यलाई संक्रमित नगराउन सबैले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नुपर्ने भन्दै हरेक दिन सचेत गराउँदै आउनु भएको छ ।

‘हामी जानी वा नजानी संक्रमण भित्र्याउनमा जिम्मेवार रहन्छौं। अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनु भएन, भीडभाडमा जानुभएन, कार्यालय वा काम गर्ने स्थानमा दूरी कायम गरी काम गर्नुपर्यो,’ प्राडा गौतम भन्नुहुन्छ, ‘घर प्रवेश गर्दा नियमित हात राम्ररी साबुनपानीले धुनुपर्छ। वृद्धवुद्धाहरुको नजिकै नजाने, कोठाभित्र प्रकाश आउने, हावा ओहोरदोहोर हुने वातावरण मिलाउनु पर्छ।’

उहाँले आफ्नो साथीभाई, आफन्त र चिनजानका मानिसमा भाइरस संक्रमण छैन भनेर मान्नु नहुने भन्दै सवैलाई सचेत गराउनु भयो । म बाहेक अरुलाई संक्रमण हुनसक्छ भन्ने आशंकासहित आफन्त, साथीभाईसँग भेट्दा पनि अनिवार्य मास्क लगाउने, भौतिक दूरी कायम गर्ने व्यवहार नगरे ठूलो खतरा निम्तनसक्ने गौतमको चेतावनी छ।

‘घरमा पाहुना बोलाउने तथा आफूपनि पाहुना जाने जस्ता क्रियाकलापले संकट बढाएको आफ्नो निश्कर्ष पनि प्रवक्ता गौतमले सुनाउनु भयो । ‘पछिल्लो समय काठमाडौंलगायत घनावस्तीमा संक्रमण बढी छ। आफू र आफन्त जोगाउन आफै जिम्मेवार बन्नुपर्छ,’ गौतमले भन्नुभयो । उपत्यकाबासीले हेलचेक्र्याई गर्दाको परिणम शनिवार हालसम्मकै धेरै संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिवार काठमाडौंमा १ सय ६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।