काठमाडौं, भदौ ७
पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ८ हजार २६ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जनामा संक्रमण देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ८१८ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ । उहाँले हाल आइसीयूमा १४७ जना रहेको बताउनुभयो । आज देशभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।
सक्रिय संक्रमितमध्ये १३७ जना आइसीयू र १० जना भेन्टिलेटरमा रहेका छन् । भेन्टिलेटरमा रहेका संक्रमित बागमती प्रदेशमा रहेका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १८ हजार ६३१ पुगेको छ । यो दर ५८ प्रतिशत हो । देशभरका क्वारेन्टाइनमा ११ हजार ४१४ जना रहेका छन् । त्यसैगरी होम आइसोलेसनमा बस्नुभएको संख्या ३ हजार ९४३ रहेको छ । संस्थागत आसोलेशनमा ९ हजार २१२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्