जनता टाइम्स

८ भाद्र २०७७, सोमबार २१:५५

मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान, पिसिआर नेगेटिभ भए घर जान पाइने


काठमाडौं, भदौ ८

विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो ।

कोभिड ९१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धार उडान शुरु हुन लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका सहप्रवक्ता राजन पौडेलले उद्धार उडानको समायोजित तालिका बनाइएको जानकारी दिनुभयो । उडान तालिकानुसार मङ्गलबार युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ ।

सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ । एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ । सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च उनीहरुले नै बेहोर्नुपर्नेछ । टर्किस र कतार एयरले एक उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को विवरणअनुसार भदौ ७ गतेसम्म विदेशबाट फर्कने नेपालीको सङ्ख्या ५२ हजार २५१ रहेको छ ।

यसैबीच, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टाइनमा बस्नु नपर्ने स्पष्ट पार्नुभएको छ । पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु सिधै घर जान पाउने स्पष्ट पार्नुभएको हो । ‘पीसीआर गरेका यात्रुहरुले सरकारले वेबसाइटमा राखेको फर्म भर्नुपर्छ । नेपालको ठेगाना स्पष्ट लेख्नुपर्छ’, मन्त्री भट्टराईले भन्नुभयो,‘नेपाल आइसकेपछि एयरपोर्टबाट रिपोर्ट नेगेटिभ देखाउनुभयो भने १४ दिन आफ्नो घरमा होम क्वारेन्टाइननमा बस्ने प्रतिबद्धतासहित घर जान दिइन्छ ।’