तपाईले नेकपाको तीन अक्षरका कमरेड ‘क’ बाट जेजति फाइदा लिनु भएको छ नेकपाको तीन अक्षरमध्येका पहिलो अक्षर ‘कमरेड ‘ने’ लाई पनि अलिकति भाग लगाऊँ न’ ! भनेर कहिल्यै भने जस्तो लाग्दैन ! क्रान्ति र विद्रोहका नायकको पिपलपाते शैली भुइँका मान्छेलाई पटक्क मन परेको छैन है ! विचार गर्नुहोला ! यहाँको नेतृत्वमा भएको त्यत्रो विद्रोहमा बगेको रगतको उपलब्धिको घेरा साघुरिँदै केबल आफ्नो रगत, नालनाता, कुलकुटुम्ब र बाँकी गोरु बेचेका र नबेचेका साइनाहरूका पोल्टामा मात्र नपरोस है !
प्रा.डा.ऋषिराम शर्मा
नेकपामा यो पल्टको विजया दशमी पराजया दशमीका रूपमा मनाइन लागेको हो कि भन्ने विचित्रका अभिलक्षण देखिँदै छन ! अझै भन्ने हो ‘दसैँ’ शब्द दशमीबाट बनेको तद्भव शब्द हो भने नेकपाका सन्दर्भमा भने यो ‘दसैँ’ शब्ददशा नै दशाबाट बनेको हो कि भन्ने सङ्केत देखिँदै छन् ! नेकपाका सन्दर्भमा डेरिडाको अर्थ भञ्जनको असर यो दशैँ शब्दको व्युत्पत्ति पनिदेखिएको हो कि भन्ने अनुभूत हुँदो छ ! यसपल्टको विजया दशमीको घटस्थापनापछि नेकपाकै लेटर प्याडमा एउटै दलका दुई अध्यक्षका अलगअलग विज्ञप्ति आउनुले नेकपामा यो घटस्थापना होइन, घटकस्थापनाका रूपमा मनाइसकिएको कुरो त जगजाहेर भै नै सक्यो ! अहिले चाहिँ कार्यकारी अधिकारका लागि खुट्टा बजार्दै उफ्रनुको अर्थ पार्टीका थाती रहेका काम सम्पन्न गर्न होइन, मुलुकमा अस्थिरता निम्त्याउन रहेछ भन्ने बुझ्न गारो परेन !
हाललाई नेकपाको वर्णमालामा अहिले ‘ने’ ‘क’ र ‘पा’ मात्रै रहेछन र त्यहाँ अरू अक्षर सबै बबुरा रहेछन भन्ने कुरा बुझौँ, अथवा यसो भनौँ, अरू अक्षरहरू यी तीन अक्षरहरूका रैती हुन् । यी तीन नेकपा नामक अक्षरहरू जुनजुन पदमा छन, तत्तत् पदका आआफ्नै कार्यक्षेत्र र त्यस पदका आफ्नै सीमा छन ! निश्चित अवधिपछि ती कार्यक्षेत्रमा अदलबदली हुने आफ्नै विधिविधान पनि छ नै ! तर यो नेकपाका तीन अक्षरमध्ये दुई अक्षर मिलेर एक अक्षरलाई हिर्काउने, देखाउने र चखाउने जुन खेल खेलिँदै छ ! र अवधि नपुग्दै एक अक्षरलाई लखेट्न पार्टी बहुमतको दुई अक्षरे नाङ्लो देखाएर दुईतिहाई बहुमतको सरकारी हात्ती तर्साउन खोजिँदै छ, त्यसले दुई तिहाइको नेकपा शिशुको हृष्टपुष्ट शरीरमा सुकेनास निम्त्याउनेबाहेक केही लछारपाटो लाउने छैन भन्ने ध्रुवसत्य छ !
नेकपामा‘क’को नेतृत्वमा यो सरकार गठन भएदेखि नै आफ्नै दायाँबायाँका ‘पा’ ’ने’ले समेत कर्के आँखाले घुरेर हेर्ने र ससानो मौका पाउना साथ बाँदरको घाउ बनाई कोट्याएर अराजकताका झिँगा भन्काउने चलन संस्कृतिकै रूपमा स्थापित भै सकेकै हो जस्तो छ ! आफ्नै प्रधानमन्त्रीको राजीनामा माग्ने पनि अनौठो र मौलिक परम्परा पनि नेकपामा जस्तो संसारमा कहीँ छैन रे ! नेकपामा प्रधानमन्त्रीको खुलेरै राजीनामा माग्न र नयाँ प्रधानमन्त्रीको ब्याउलो सजाएर जन्तीका रूपमा विभिन्न पार्टीप्यालेस र भट्टीहरूमा जम्मा भई आफै रत्यौली (रातमा खेलिने) र दिवौली (दिनमा खेलिने) दुवै मजैले खेलेको पनि देखियो ! त्यसैले यो रत्यौली र दिवौली नेपालका इतिहासमा कोरोना महामारीकालको एक अर्को महामारीका रूपमा ऐतिहासिक उपलव्धिका रूपमा विश्व इतिहासमै दर्ज हुने निश्चित नै छ !
दसैँ पछि सरकार ढल्छ भन्ने महानवाणीहरू नेताहरूका मुखारविन्दबाट निसृत भएको कुरो विभिन्न अनलाइनमा प्रसारण भए पछि भने अब यो बोली नफुट्तै फुट्न लागेजस्तो बबुरो दुईवर्से नेकपा भन्ने जिनिसलाई दशैँको (अ)शुभकामना नदिनु निकै अन्याय हुने ठानी मैले दसैँकै समयमा हार्दिकता साथ नेकपालाई दसैँको (अ)शुभकामना टक्र्याउन विवश छु ! मैले यो दसैँमा यो नेकपालाई (अ)शुभकामना दिनाको मुख्य कारण के हो भने सम्भवतः यो नेकपा यही गतिमा अघि बढेमा यसले अर्को दसै (चैते दसैँसमेत) देख्ला भन्नेमा शङ्कै छ !
हे ! नेकपाका ‘ने’ अक्षर ! तपाईलाई मेरो तर्फबाट दशैँको मुरीमुरी (अ)शुभकामना छ ! मलाई थाहा छ, तपाईलाई अहिले देब्रे कुनामा बस्नु पर्दा अथाह पीडा भै रहेछ ! तपाई अहिले आफूलाई छेउमा बसेको हुँदा कसैले किनारामा पारेको अनुभूत गर्नु भो होला ! तर तपाई केन्द्र भागमा बसेर हस्तिनापुरको स्वाद राम्रै चाखैकै अक्षर हो भन्ने दुनियालाई थाहा छ र स्वाभाविक रूपमा अबको केन्द्रीय नेतृत्व बन्दा खेरि तपाई नै एकपल्ट अभिभावक बनिदिनु पर्ने परिस्थिति बन्दै गएको पनि हो !
तर तपाई अवधि नपुग्दै जनताले जुन ठाउँमा जतिन्जेल जसरी बस्न दिएका हुन् त्यसरी नबसी जुरुक्क उठेर सबै भन्दा दाहिने पट्टि बसेको र शाकाहारी र माँसाहारी सबैखालका भोजन गरी डकारेका ‘पा’ अक्षरजीसँग साँठगाँठ गरी भ्रूणहत्या गराउन लागेको देखेपछि दिक्क लग्दै छ ! र यसले तपाई ‘ने’ जीलाई यो दसैमा चौटा खान खोज्दा अर्को दसैँसम्म कतै (‘क’ धपाउने यहाँहरूको सपना पूरा भयो भने त्यतिबेला शाकाहारी र मांसाहारी भेलापारी पूर्ववत् बनाइन सक्ने बिसहजार केन्द्रीय सदस्यका भीडको) झोलमा डुब्नु हुने लक्षण देखेपछि तपाईलाई (अ)शुभकामना नदिई मनैले मानेन ।
हे ! नेकपा का ‘क’ अक्षर तपाईलाई पनि म यो दसैको भूरिभूरि (अ)शुभकामना टक्र्याउँछु ! तपाई अहिले नेकपाका तीन अक्षरको बीचमा वा केन्द्रमा हुनुहुन्छ ! केन्द्रमा भएपछि दायाँबायाँतिर बसेका दुवैसँग सन्तुलित सम्बन्ध र चित्त बुझाइ गरिदिनु भएको भए हुन्थ्यो भन्ने अरू केही अक्षरहरूको बुझाइ हो र यो बुझाइ अनुपयुक्त पनि होइन होला ! तर तपाई जहिल्यै दाहिने ढल्किनु भो र दाहिनेतिरका ‘पा’ज्यूको सारै भरोसा गर्नु भो ! शाकाहरी र मांसाहारी दुवैलाई समान व्यवहार गर्नु पर्नेमा तपाई अलिक बढी माँसाहारी तिर ढल्किनु भो रे ! नेकपाको स्वास्थ्य र सौन्दर्यका लागि दुवै आहार आवश्यक नै हुन !
तर तपाईलाई यो कुरो पत्तै भएन कि धेरै मांसाहार स्वास्थ्यका लागि र शरीरका लागि समेत हानिकर छ ! तपाईका दाहिनेतिरका ‘पा’ज्यूले तपाईका देब्रेतिरका र तपाईँकै वंशका तर तपाईँद्वारा हेपिएको अनुभव गर्नुभएका ‘ने’ जीसँग तपाईसँगको असन्तुष्टिको आगोमा झिजा जोरजार पार्दै हुनुहुन्छ ! उता ‘ने’ ज्यू चाहिँ आफैलाई खरानी पार्न ‘पा’ ज्यूले झोसेको र पुत्ताएको आगो ‘क’ को रिसका ढुङ्ग्राले दुवै गाला फुलाईफुलाई फुकिरहनु भएको जस्तो छ ! यता तपाईँको कार्यकाल आफ्ना दाहिने देब्रेका धरापमा पर्ने वा यिनलाई मन्साउँदै सकिने र यहाँले टालटुले समाधान मात्र खोज्दै जाने हो भने नेपाली जनताको समृद्धिका सपनाले चौबाटामा बसेर फेरि भिख माग्नु पर्ने हो कि भन्ने परिस्थिति जब्बर रूपमा देखिँदो छ ! त्यसैले एउटा दीर्घकालीन समाधान जरूरी भै सक्यो !
नेकपाको तीन अक्षरका अन्तिम अक्षरका हे ‘पा’ ज्यू तपाईँलाई पनि दसैँको हार्दिक र भूरिभूरि (अ)शुभकामना छ ! नेकपाका यी तीन अक्षरमध्ये तपाई करिब चार दशकसम्म आफैले बनाउँदै, भत्काउँदै र फेरि बनाउँदै गर्नुभएका पार्टीको सर्वोच्च पदमा रहनुभयो ! तपाईले नेपालका गाउँ र समाजमा जरो गाडेर रहेको शोषणका विरुद्ध विद्रोहको नेतृत्व गर्नु भयो ! जे भनेर विद्रोह सुरु गरिएको होस् त्यो नभए पनि गणतन्त्र ल्याउन त्यस विद्रोहको योगदान महत्वपूर्ण छ ! तपाईमा त आफ्नै विद्रोहकालका कुनै होनहार नेतालाई आफ्नातर्फको नेतृत्वको बागडोर सुम्पँदा मन्डेला बन्ने अवसर पो छ भन्छन !
तर आफूलाई सधैँ सधै र सधैँ केन्द्रमा नपारून्जेल सधैँ मुलुकमा अस्थिरता सिर्जना गरिरहने हजुरको हबी नै हो कि भन्ने भ्रम पो परिसक्यो ! के तपाई अस्थिरताको मुलुकका लागि ल्याइएको गणतन्त्र परिवारगण तन्त्रमा अनुवाद भैसक्यो भन्ने हल्लाले सार्थकता नपाओस् भन्ने शुभचिन्तकको विनीत इच्छा पनि हो ! तर प्रत्येक पटक नेकपाका तीन अक्षरमा विवाद र समाधान हुँदा पाँच वर्षसम्म कमरेड ‘क’ नै प्रधानमन्त्री भन्ने र त्यसको पाँच दिनपछि फेरि निहुँ खोज्ने प्रवृत्ति चाहिँ बुझि नसक्नु पो छ त ! तपाईले नेकपाको तीन अक्षरका कमरेड ‘क’ बाट जेजति फाइदा लिनु भएको छ नेकपाको तीन अक्षरमध्येका पहिलो अक्षर ‘कमरेड ‘ने’ लाई पनि अलिकति भाग लगाऊँ न’ ! भनेर कहिल्यै भने जस्तो लाग्दैन ! क्रान्ति र विद्रोहका नायकको पिपलपाते शैली भुइँका मान्छेलाई पटक्क मन परेको छैन है ! विचार गर्नुहोला ! यहाँको नेतृत्वमा भएको त्यत्रो विद्रोहमा बगेको रगतको उपलब्धिको घेरा साघुरिँदै केबल आफ्नो रगत, नालनाता, कुलकुटुम्ब र बाँकी गोरु बेचेका र नबेचेका साइनाहरूका पोल्टामा मात्र नपरोस है !
अँ, नेकपा शब्दका तीन अक्षर यताउता हुनु नेकपा नै यताउता हुनु हो ! यी अक्षर महोदयमध्ये कसैले बीच वा केन्द्रमा रहेको अक्षर ‘क’ धपाएर केन्द्रमा पुग्ने सपना बेकार छ । बीचकाले पनि दायाँबायाँ मध्ये एकातिर मात्र ढल्किने गर्नु भएन भने दुवैसँगसँगै बसेर दुवैको भावना बुझ्नु परो, तर चित्त बुझाउने नाममा संविधानको सन्निमा प्रहार गर्नु भएन, भटाभट काम गर्नु परो । दायाँबायाँकाको मुखमा बुजो लाग्ने गरी भटाभट काम गर्नुपरो । दायाँबायाँकालाई पनि चेतना होस्स नेकपामा दुईतिहाई बहुमतको कमान्डर अर्थात् तीन अक्षरको ‘क’ बाहिर पर्नासाथ दायाँ र बायाँका अक्षर कसैले पनि बीचमा परूला भन्ने नसोचे हुन्छ, किनकि त्यसपछि दुवै रहने छेउछाउमै हो !
अर्को कुरा नेकपाका यी तीन अक्षरमध्ये विभिन्न पक्षमा लाग्नुहुने वा निष्पक्ष दावी गर्नुहुने आदरणीय अ,झ, ना, वा, रा, भी, वे, र, गो, म, लगायत सबैलाई विभिन्न मिडियामा तित्रातित्री झै नचिर्बिराउन र काग काग गर्दै आफ्नो नाम आफै नकाड्न दुर्गा भवानीले दिन खोजेको सद्बुद्धि लिए लिऊन् र नलिए नलिऊन् भनी दसैँको (अ)शुभकामना टक्र्याउँछु !
‘क’ ले ‘भ’ को चित्त किन दुखाएको भनेर पहिले निकै उखर्माउलो गरियो ! र राजीनामा मागियो ! निकै पापड बेलेपछि सम्झौता भो र त्यसबेला पूरै पाँच वर्ष ‘क’ नै प्रधानमन्त्री बन्ने भनियो ! अहिले ‘भ’ले रअ पठाएर ‘क’ ले ‘भ’ सँग सम्बन्ध सुधार्न खोज्दा ‘भ’ को किन चित्त बुझाउन खोजेको भनेर वितण्डा मच्चाइँदै छ ! आफूले सोल्टीका घरका कुर्सुलाको बाटो हुँदै लुकीकुकी भेट्ने अनि “क”का निवासमा चाहिँ उताका ‘मो’को चिठी बुझाउन गएको हल्कारा रअ सँग हाकाहाकी भेटेको कुरामा किन भेटेको भनी बेमौसमी आँधी ल्याउछु र सरकार बढार्छु भन्नुको के पो तुक छ र !
अर्को कुरा अहिले भर्खरैको तात्तातो कुरो नै लिऊँ न ! , ‘क’ ले ‘भ’ को चित्त किन दुखाएको भनेर पहिले निकै उखर्माउलो गरियो ! र राजीनामा मागियो ! निकै पापड बेलेपछि सम्झौता भो र त्यसबेला पूरै पाँच वर्ष ‘क’ नै प्रधानमन्त्री बन्ने भनियो ! अहिले ‘भ’ले रअ पठाएर ‘क’ ले ‘भ’ सँग सम्बन्ध सुधार्न खोज्दा ‘भ’ को किन चित्त बुझाउन खोजेको भनेर वितण्डा मच्चाइँदै छ ! आफूले सोल्टीका घरका कुर्सुलाको बाटो हुँदै लुकीकुकी भेट्ने अनि “क”का निवासमा चाहिँ उताका ‘मो’को चिठी बुझाउन गएको हल्कारा रअ सँग हाकाहाकी भेटेको कुरामा किन भेटेको भनी बेमौसमी आँधी ल्याउछु र सरकार बढार्छु भन्नुको के पो तुक छ र !
अँ, त्यो राकेश सूदका पाला निजलाई बालुवाटारमा हप्तैपिच्छे सलाम गर्ने सूदखोरहरू र श्यामशरणका पालामा लैनचौरमा लम्पसार पर्ने “त्वम् शरणम्”हरू अर्थात् ‘जो जससँग सम्बन्धितज्यूहरूले’ अहिले आआफ्नो विगतको ऐना पुछपाछ पारेर राम्ररी हेर्नु पर्ने हो कि जस्तो पो छ त “ र अन्त्यमा नेकपाका तीन अक्षर मिल्नुको विकल्प छैन ! तीन अक्षर मिल्नु भो भने नेकपालाई विजया दशमीको हार्दिक शुभकामना ! नत्र आफू, दल, देश र मतदाताका सपनामा आगो लगाउने अभियानमा हिँड्नु भएका नेकपाका यी तीन अक्षर वा सिङ्गोनेकपालाई दसैँको दुर्वासामय (अ)शुभकामना !
प्रतिक्रिया दिनुहोस्