जनता टाइम्स

२० कार्तिक २०७७, बिहीबार ११:३१

अदालतले जब अर्नब गोस्वामीलाई भन्यो : सिधा रहेर बस, कुनै हर्कत नगर


काठमाडौं, कात्तिक २०

अदालतले आत्महत्या दुरूत्साहनको अभियोगमा बुधबार पक्राउ परेका भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक अर्नब गोस्वामीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ ।

गोस्वामीसँगै अन्य दुईलाई पनि बुधबार राति न्यायिक हिरासतमा पठाइएको छ । न्यायिक हिरासतमा पठाइएका अर्नबका वकिलले जमानतका लागि निवेदन दिइएको र सोको सुनुवाइ आज बुधबार हुनसक्ने बताएका छन् । अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

यसै वर्ष महाराष्ट्र सरकारले घटनाको सिआईडी जाँच गर्न आदेश दिएको थियो । प्रहरीले अर्नबको घरको खानतलासी पनि गरेको छ । अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा सिआइडीद्वारा पुनः जाँचको आदेश दिइएको थियो ।

यसैबीच, अदालतमा गोस्वामीले प्रहरीद्वारा आफुमाथी कुटपिट गरेको आरोप लगाएका थिए । त्यसपछि अदालतले मेडिकल टेष्टका लागि पठाएको थियो । मेडिकल टेष्टपछि शुरु भएको सुनुवाईमा अदालतले गोस्वामीको आरोप पुष्टि नभएको बताएको थियो ।

अदालतमै चिच्याएका गोस्वामीलाई न्यायाधीशले सिधा रहेर बस्न तथा विभिन्न खाले हर्कत नगर्न चेतावनी दिएका थिए । त्यसपछि उनि चुपचाप बसेको भारतीय संचारमाध्यमले जानकारी दिएका छन् ।