जनता टाइम्स

२२ कार्तिक २०७७, शनिबार ०९:५८

महानगरभित्रका बेरोजगार श्रमिकलाई साताको दुई दिन अनिवार्य रोजगारी, अशक्तलाई निःशुल्क खाना र औषधि


काठमाडौं, कात्तिक २२

काठमाडौं महानगरपालिकाले महानगरभित्र रोजगारी नपाएर समस्या परेकालाई हप्ताको दुई दिन अनिवार्य रोजगारी दिने भएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले काम नपाएर खान बस्नसमेत समस्यामा रहेका त्यस्ता नागरिक भोकै समस्यामा नपरुन् भनेर रोजगारीको व्यवस्था गरेको जानकारी दिनुभयो ।

कोही काम नपाएर भोकै छ भने उक्त मानिसले आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे महानगरले काम दिनेछ । महानगरले हप्ताको दुई दिन रोजगारी ग्यारेण्टी गर्ने र दिनको सात सयदेखि आठ सयसम्म ज्याला पाउने गरी हप्तामा १५ सयसम्म कमाउन सक्ने काम दिने महानगरका प्रवक्ता डंगोलले बताउनुभयो ।

महानगरले तोकेको सरसफाइ, बाटोको काम, बिरुवा रोप्ने लगायतको काम सुरुमा दिने महानगरको भनाइ छ । काठमाडौं महानगरभित्रका सवै वडा कार्यालयमा बेरोजगारीले आफूलाई पायक पर्ने कार्यालयमा सम्पर्क गर्न सक्नेछन् । काम गर्ने उमेर समुहकालाइ मागेर होइन काम गरेर खानु पर्छ भन्ने बानी बसाल्न उक्त व्यवस्था गरेको महानगरको भनाई छ ।

महानगरपालिकाले अपाङ्ग, असक्त र वृद्धवृद्धा कोही आर्थिक अवस्था कमजोर भएर समस्यामा परेकालाई निःशुल्क खाना र औषधिसमेत घरघरमा पु¥यादिने प्रवक्ता डंगोलले बताउनुभयो । महानगरपालिकाले त्यस्ता मानिसहरुलाई विगतदेखि सहयोग गर्दै आएको बताउँदै यसलाई निरन्तरता दिने उहाँले बताउनुभयो । सडकमा रहेका बालबालिकालाई महानगरले विगतमा पनि धेरैलाई व्यवस्थापन गरेको बताउँदै आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिने प्रवक्ता डंगोलले बताउनुभयो ।