जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार १०:२४

‘अव कानुनमै मर्यादित पत्रकारिताको बुँदा थप्छु’


काठमाडौं, कात्तिक २५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मर्यादित पत्रकार मात्र सदस्य बन्नसक्ने गरी विधान नै संशोधन गर्न नेपाल पत्रकार महासंघलाई सुझाव दिनुभएको छ ।

मिडिया एक्सन नेपालले काठमाडौँस्थित अमेरिकी दूतावाससँगको सहकार्यमा आयोजना गरेको ‘मिडियामा भ्रामक समाचार र रोकथाम’ विषयमा चितवन, नवलपुर र नवलपरासी जिल्लाका पत्रकारलाई प्रदान गरेको तालिम समापन समारोहमा बोल्दै सञ्चारमन्त्री गुरुङले पत्रकार महासंघलाई सो आग्रह गर्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले मर्यादित पत्रकारिताको अभियान अगाडि बढाउन आवश्यक रहेको बताउँदै मन्त्री गुरुङले भन्नुभयो, ‘म तपाइृहरुलाई जानकारी गराउन चाहान्छु कि सञ्चार कानुनमा म अब मर्यादित पत्रकारिताको बुँदा पनि थप्छु ।’ मन्त्री गुरुङले सञ्चार गृह र पत्रकार के उद्देश्यले मिडिया क्षेत्रमा प्रवेश गरेको र अहिले यो क्षेत्रमा के भइरहेको छ भन्ने विषयमा गम्भीर रुपमा समीक्षा गर्ने बेला आएको पनि बताउनु भयो ।

‘कुनै मिडियामा कुनै समाचार आयो भने त्यो मिडिया त फलानो नेताको नजिक हो भन्ने अवस्था सिर्जना भएको छ,’ पछिल्लो समयमा मानिसलाई एकदमै निराश बनाउने खालका नकारात्मक समाचार आउन थालेको र त्यसले मिडियाको विश्वसनीयतामा नै प्रश्न उठेको बताउँदै उहाँले भन्नुभयो, ‘जिम्मेवार पत्रकारिताको मापदण्ड र न्यूनतम व्यवसायिक मर्यादा आवश्यक छ र पत्रकारिताका नकारात्मक सूचीहरुलाई सकारात्मक सूचिमा परिवर्तन गर्न आवश्यक छ ।’