जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १५:४८

नेकपामा बिधि–पद्धतिको बहश : को सही को गलत ?


प्रचण्डले तत्कालिन माओवादी पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाभन्दा पनि बन्दुक र आदेशले चलाउनु भयो । माया र युद्धमा सबै कुरा जायज मानियो पनि । शान्ति प्रक्रियामा आएर प्रथम संविधानसभाको चुनाबमा नेपालको सबैभन्दा ठूलो पार्टी बनाउन पनि सफल हुनुभयो । तर पार्टी सञ्चालनमा विधान, विधि, पद्धति र प्रक्रियाभन्दा पुरानै बन्दुके शैली प्रयोग हुँदा केही बर्षमा उहाँ वरिपरिको भीडमा हराएको मात्र होईन, पार्टी नै भताभुङ्ग हुनपुग्यो 

निर्मल भट्टराई

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पाँच नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सचिवालयको बैठक बोलाउन निवेदन दिनुभएपछि नेकपाको विवाद नयाँ ढंगले सतहमा आएको छ । औपचारिक रुपमा आएको निवेदनलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले औपचारिक रुपमै प्रक्रियामा पठाउनु भएको छ । अर्थात पार्टी विधानबमोजिम तोकिएको समयमा बैठक बोलाउन पार्टी महासचिव बिष्णु पौडेललाई तोक लगाउनु भएको छ ।

नेकपाभित्र पार्टीका सबै तह र निकाय विधि र प्रक्रियाबाट चल्नुपर्छ भन्ने बहस चलिरहेको सन्दर्भमा पार्टीको सर्बोच्च निकाय पार्टी सचिवालयको बैठक पार्टी विधानले तोकेको विधि र प्रक्रियाकै आधारमा बस्ने हो । पार्टीको मूल नेतृत्वले पार्टीको विधि विधानबमोजिम बैठक बोलाउने र सञ्चालन गर्ने विषय अत्यन्त स्वाभाविक प्रक्रिया हो । सबैलाई थाहा भएकै कुरा हो, राज्य सञ्चालन संबिधानबमोजिम हुन्छ भने पार्टी सञ्चालन पार्टीको विधानबमोजिम हुन्छ । कसैको आदेशमा वा लहडमा न देशचल्छ, न पार्टी । संबिधानबमोजिम देश र विधानबमोजिम पार्टी चलाउनु पर्छ भन्ने जनताको बहुदलीय जनवादी विचारलेलैस नेकपाका अध्यक्ष केपी शर्मा ओली पार्टी विधि, पद्धति, प्रक्रिया र परम्पराको प्रमुख रक्षक पनि हुनुहुन्छ भन्ने हेक्का सबैमा हुनु अपरिहार्य छ । विधि, विधान र प्रक्रिया लत्याएर दुइ चार जना कतै जम्मा भएर गरिएको राजनीतिक भलाकुसारी वा कुण्ठालाई एउटा सच्चा कम्युनिष्ट पार्टीको बैठक मान्न सकिदैन ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले तत्कालिन माओवादी पार्टीको नेतृत्व विधि, विधान र प्रक्रियाभन्दा पनि बन्दुक र आदेशले चलाउनु भयो । माया र युद्धमा सबै कुरा जायज मानियो पनि । शान्ति प्रक्रियामा आएर प्रथम संविधानसभाको चुनाबमा नेपालको सबैभन्दा ठूलो पार्टी बनाउन पनि सफल हुनुभयो । तर पार्टी सञ्चालनमा विधान, विधि, पद्धति र प्रक्रियाभन्दा पुरानै बन्दुके शैली प्रयोग हुँदा केही बर्षमा उहाँ वरिपरिको भीडमा हराएको मात्र होईन, पार्टी नै भताभुङ्ग हुनपुग्यो । उहाँले आफू हवाईजहाजमा हुँदा कतिलाई केन्द्रीय सदस्य थप्नुभयो, हवाईजहाजबाट ओर्लंदा कतिलाई केन्द्रीय सदस्यबाट बर्खास्त गर्नुभयो । कहिले पाँच जनाको मात्र केन्द्रीय कमिटी बनाउनुभो, कहिले पाँच हजारको केन्द्रीय कमिटी बनाउनुभो । तर कसै गर्दा पनि फस्टाएन, निरन्तर खुम्चिरह्यो । प्रष्ट विचार र जनवादी केन्द्रीयताको आधारमा तृणमूल तहसम्म पार्टी निर्माण र सञ्चालन गर्नुपर्छ भन्ने चेत प्रचण्डलाई कहिल्यै आएन । अर्थात युद्ध सञ्चालन गर्न सफल प्रचण्ड शान्ति एवं चुनाब चरणमा पार्टी सञ्चालनमा सफल हुनुभएन । त्यसकारण उहाँ एक्लैले नेकपा हाँक्न सक्ने कुनै सम्भावना छैन ।

बिधिबिरुद्ध उभिएर अर्कालाई बिधि पद्धतीको पालना गर भन्दै कुर्लनुको अर्थ सवैले बुझिसकेका छन । को बिधिको पक्षमा छ, को छैन भन्ने कुरा सचिवालय बैठक बोलाउने बिषयले नै प्रष्ट पारिसकेको छ । त्यसैले अव नेपालको कम्युनिष्ट आन्दोलनमा विधि, पद्धतिलाई संस्थागत गर्ने प्रमुख नेतालाई जीवनमा विधि, पद्धतिको पालन नगर्ने नेताहरुले ‘विधि–पद्धतिको पालन गर’ भनिरहने विडम्बना अब हट्ला कि ?

अर्कातिर पार्टी विचार, विधि, विधान, पद्धति र प्रक्रियाले चल्नु, चलाउनु पर्छ भन्ने विषय तत्कालिन एमालेले मलजल गरेर हुर्काएर ल्याएको विषय हो । जननेता मदन भण्डारीले काखी च्यापेर ल्याएको विषय हो । केपी, माधव, जेएन, ईश्वर र बामदेवलगायतले बचाएर नेकपामा ल्याएको सम्पत्ति हो । विचारको दृष्टिले, संगठनको दृष्टिले र विधि–पद्धतिको दृष्टिले नेकपाको मूल पक्ष भनेको तत्कालिन एमालेको पक्ष नै हो । त्यसकारण यसको मूल कार्यकारी नेतृत्व केपी ओलीकै हो । यो नेतृत्वलाई एकता महाधिवेशनसम्म मानेर जाने नै दुई पार्टी एकताको चुरो कुरो हो । मूल नेतृत्वलाई कमजोर बनाउने, बदनाम गराउने, सरकारलाई काम गर्नै नदिने, गरेका राम्रा कामको समेत विद्रुपीकरण गर्ने कार्यले यसरी नै निरन्तरता पाउने हो भने नेकपालाई कसैले बचाउन सक्दैन ।

त्यसैले बिधिबिरुद्ध उभिएर अर्कालाई बिधि पद्धतीको पालना गर भन्दै कुर्लनुको अर्थ सवैले बुझिसकेका छन । को बिधिको पक्षमा छ, को छैन भन्ने कुरा सचिवालय बैठक बोलाउने बिषयले नै प्रष्ट पारिसकेको छ । त्यसैले अव नेपालको कम्युनिष्ट आन्दोलनमा विधि, पद्धतिलाई संस्थागत गर्ने प्रमुख नेतालाई जीवनमा विधि, पद्धतिको पालन नगर्ने नेताहरुले ‘विधि–पद्धतिको पालन गर’ भनिरहने विडम्बना अब हट्ला कि ?