काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। मंगलबार सुरक्षा निकायका प्रमुखहरू सहित प्रभावित क्षेत्रमा पुग्नुभएका प्रधानमन्त्री ओलीले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा पीडितहरूसँग प्रत्यक्ष जानकारी लिनुभएको जानकारी दिनुभएको छ ।
प्रभावित क्षेत्रबाट फर्किए पछि फेसबुकमार्फत प्रधानमन्त्री ओलीले बाढीले गरेको जनधनको क्षतिबारे स्थानीय प्रशासन, जनप्रतिनिधि र स्थानीयवासीसँग जानकारी लिएको उल्लेख गर्नु भएको छ। बाढीको जोखिमबारे पहिल्यै सूचना जारी गरिएको र त्यससँगै उद्धारका लागि सुरक्षा टोली तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। ‘विपद् अगाडि नै सतर्कता अपनाउन सूचना जारी गर्ने, सुरक्षाकर्मीको सहायता सम्पर्कका लागि अनुरोध गर्ने र बाढी आउनासाथ उद्धार सामग्री सहित सुरक्षाकर्मी परिचालित गरेका थियौँ’, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ।
उहाँका अनुसार हाल प्रभावित क्षेत्रमा उद्धार र खोजी कार्य जारी छ। प्रभावित क्षेत्रको निरीक्षणपछि विपद् व्यवस्थापन समिति (सीएमसी) को बैठक गरिएको उहाँले उल्लेख गर्नु भएको छ ।
रसुवाको त्रिशूली नदी किनार आसपास भारी वर्षापछि आएको बाढीले ठुलो जनधनको क्षति पुर्याएको छ। केही नागरिकको ज्यान गएको, केही बेपत्ता भएका तथा विस्थापित भएका खबर आएका छन्।
प्रतिक्रिया दिनुहोस्