जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १४:११

अमेरिकाले दियो नेपाललाई सय थान भेन्टिलेटर, सातै प्रदेशमा यसरी हुँदैछ बितरण


काठमाडौं, कात्तिक २८ । अमेरिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा सहयोग पुर्याउन नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ ।

अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई आज भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत बेरीले असल र खराब सबै समयमा अमेरिका नेपालसँग साझदारी गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले अति दुर्गम क्षेत्रका समुदायको उपचारमा समेत प्राप्त भेन्टिलेटरले सहयोग पुर्याउने बताउनु भयो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको लडाईंका लागि जनधनको सुरक्षा गर्न अमेरिकाले सुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अहिले ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री ढकालले प्राप्त भेन्टिलेटर आजबाटै वितरण सुरु गरिने बताउनु भयो । सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७/७ वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटर हरेक सरकारी अस्पताललाई दुई—दुई वटाका दरले वितरण गरिने मन्त्री ढकालले जानकारी दिनुभयो ।