जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १०:२७

भारत र सेन्ट्रल एसियाली सम्मेलनको भू-राजनीतिक महत्व


यस अर्थमा भर्खरै २ नोभेम्बरमा भएको शिखर वार्ताले अफगानिस्तानमा भारत र सेन्ट्रल एसियाले एक स्वर र एक ध्वनीमा त्यहाँको राष्ट्रवादी शक्तिहरुलाई सहयोग र सद्भाव जाहेर गर्ने प्रतिबद्धता पनि भएको छ । भारत र सेन्ट्रल एसियाको सामिप्यता बढ्न बितिक्कै अफगानिस्तानको कट्टरपन्थीहरुलाई नियन्त्रण गर्न र संसारबाट कट्टरपन्थी तत्वलाई उन्मुलन गर्न अमेरिकालगायत पश्चिमा शक्तिहरुले पनि सहयोग गर्नसक्ने सम्भावनालाई नकार्न सकिदैन । यस अर्थमा यो शिखर सम्मेलनको महत्व अधिक देखिन्छ

विपिन देव

नोभेम्बर २ माभारत र सेन्ट्रल एसियाली सम्मेलनको बारेमा विश्व सञ्चार जगतले व्यापक चर्चा गरिरहेको छ । सेन्ट्रल एसिया भन्नाले किर्गिस्तान, ताजिकिस्तान, तुर्कीस्तान र उज्वेकिस्तान बुझिन्छ । सामरिक दृष्टिकोणले यी मुलुकहरुको भू–राजनीतिक महत्व विश्व राजनीति र कुटनीतिमा धेरै महत्वपूर्ण छ । जनसंख्याको हिसाबले ७५ मिलियन जनसंख्या भएको यी मुलुकहरुको जनघनत्व एकदमै कम छ, तर भू–भागको हिसाबले भारतभन्दा २० गुणा ठुलो छ । खनिज र प्राकृतिक सम्पदाले भरिपूर्ण यो भू–भागको भारतीय सभ्यता र संस्कृतिसँग पुरानो सम्बन्ध रहेको छ । तेस्रो शताब्दीदेखि नै भारतसँग यी मुलुकहरुको व्यापारिक सम्बन्ध रहेको देखिन्छ । १५ औं शताब्दीमा बाबर यही भु–भागबाट आएर आफ्नो साम्राज्य र अधिपत्य भारतमा बढाएको थियो ।

भूगोलको हिसाबले भारतको नजिक छिमेकीको रुपमा यीमुलुकहरुलाई लिन सकिन्छ । भारत र सेन्ट्रल एसियाली सम्मेलनको महत्वको बारेमा विभिन्न विश्लेषण र व्याख्या विभिन्न कोणबाट भैरहेको छ । सोभियत संघ विघटनपछि यी मुलुकहरुलाई स्वतन्त्र राष्ट्रको रुपमा स्वीकार गर्ने मुलुकहरुमध्ये भारतको स्थान अग्रपंक्तिमा देखिन्छ । भारतले यी सम्पूर्ण मुलुकहरुमा दुतावास स्थापना गरेर दौत्य सम्बन्ध ९० को दशकमा नै स्थापना गरेको देखिन्छ । सभ्यताको उषाकालदेखि नै सम्बन्ध रहेको यी मुलुकहरुसँग भारतले विशेष महत्व दिनुको कारण वर्तमान भू–राजनैतिक अवस्था हो । भारत र सेन्ट्रल एसियाको सेतुको रुपमा इरान र अफगानिस्तान रहेको देखिन्छ । अफगानिस्तानमा भारतले प्रचुर मात्रामा लगानी गरेको देखिन्छ । अफगानिस्तानमा अग्रगामी परिवर्तनको लागि सूचना र प्रविधिको क्षेत्रमा परिवर्तनको लागि भारतले धनराशी र मानव संसाधन पनि परिचालित गरेको देखिन्छ ।

अफगानिस्तानमा कट्टरपन्थीको वर्चस्व हुने बितिक्कै त्यहाँबाट आतंकवादी क्रियाकलाप सुरु हुने खतरालाई इनकार गर्न सकिदैन । सेन्ट्रल एसियाली मुलुकमा भारतको प्रभाव बढेको खण्डमा यी मुलुकमा आतंकवादलाई नियन्त्रण गर्न भारतलाई सहयोग गर्न सक्दछ । क्षेत्रफलको हिसाबले यी मुलुकहरु समृद्ध छन । जानकारहरुको अध्ययन अनुसार किर्गीस्तान, ताजिकिस्तान, तुर्कीस्तान र उज्वेकिस्तानमा इस्लामिक कट्टरपन्थीहरु आफ्नो क्रियाकलापलाई सक्रियता दिइरहेको छ । सेन्ट्रल एसियाली मुलुकहरु भू–परिवेष्ठित छन् । यी मुलुकहरु व्यापारलगायत अरु गतिविधि बढाउन भारतले इरानको चावाहार बन्दरगाहमा आफ्नो लगानी बढाई रहेको छ । अर्थात् इरानको चावाहार बन्दरगाहको मध्यमबाट भारतले सेन्ट्रल एसिया, अफगानिस्तान र अफ्रिकी मुलुकहरु सँग पनि आफ्नो कारोबार अगाडि बढाउन सक्दछ । हालसम्म चावाहार बन्दरगाहको क्षमता भारतको लगानीले गर्दा ८.५ मिलियन टनको क्षमता रहेको देखिन्छ । अर्को शब्दमा भन्ने हो भन्ने चावाहारको माध्यमबाट भारतले इरान, अफगानिस्तानलगायत अरु मुलुकहरुमा आफ्नो पहुँच र सामथ्र्य बढाउन सक्दछ ।

सामुद्रिक मार्गमा आफ्नो पहुँच बढाउन शक्तिशाली मुलुकहरुले भगिरथ प्रयास गरिरहेको अवस्था आधुनिक भू– राजनैतिक यथार्थ हो । चीनले लद्दाख र अरुणाचल क्षेत्रमा आफ्नो दाबी बढाउनुको कारण त्यहाँको जलमार्गमा आफ्नो प्रभाव बढाउनु हो । चीनले ठुला–ठुला ड्याम बनाएर सीमावर्ती क्षेत्रमा आफ्नो दबाब बढाउन कुटनीति र रणनीति बढाईरहेको अवस्था छ । सेन्ट्रल एसियाली सम्मेलनको मन्त्रीहरुसँग वार्तामा भारतका विदेशमन्त्री डा.एस. जयशंकरले १ बिलियन अमेरिकी डलर सेन्ट्रल एसियामा अनुदान दिने समेत घोषणा गरेको देखिन्छ । उक्त धनराशी चिकित्सा, शिक्षा, सूचना प्रविधि, सामाजिक जागरणलगायत विभिन्न मानव कल्याण गतिविधिमा परिचालित हुने सम्झौता भएको देखिन्छ । सेन्ट्रल एसियाका मुलुकहरुमा इन्धन र उर्जाको प्रचुर मात्रामा भण्डारण रहेको अवस्था छ ।

रुसले आफ्नो उर्जाको बजार युरोपलाई बनाएको छ भने चीनले आफ्नो लगानी सेन्ट्रल एसियामा बढाईरहेको छ । तर चीनको लगानी सेन्ट्रल एसियामा बढ्ने बितिक्कै अमेरिकालगायत पश्चिमा शक्तिहरुको सम्बन्ध प्रभावित हुन सक्ने खतरालाई सेन्ट्रल एसियाली मुलुकहरुले नजरअन्दाज गरेको छैन । यस परिवेशमा भारतसँगको सु–मधुरता र सामिप्यता पश्चिमा शक्तिहरुलाई समेत पाच्य हुनसक्ने अवस्था छ । सेन्ट्रल एसियाली मुलुकहरुमा पुँजी र प्रविधिको पर्याप्तखाँचो छ । सोभियत संघ विघटन हुने बितिक्कै यी मुलुकहरुको वित्तीय अवस्था कमजोर छ । पूर्वाधारहरु समेत खण्डहरमा परिवर्तन हुनसक्ने सम्भावना छ । यस अर्थमा भारतको लगानी र मानव संशाधनको प्रयोगले त्यहाँको आर्थिक अवस्था चलायमान हुन सक्दछ ।

भारत र सेन्ट्रल एसियाको बीच साँस्कृतिक कडी पनि छ । सभ्यताको उषाकालदेखि नै आसियानलगायत एसियाको कुना–कुनामा बौद्ध धर्म र हिन्दु धर्मले आफ्नो प्रभाव छोडेको छ । ती सांस्कृतिक र धार्मिक अवशेषलाई आधार स्तम्भ बनाएर बदलिँदो परिवेशमा कुटनीतिक सम्बन्धलाई नयाँ उचाइ दिन सकिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनपश्चात नै सेन्ट्रल एसियाली मुलुकहरु सँग सामिप्यता बढाउन भारतले कुटनीतिक कसरत सुरु गरिसकेको छ । अर्थात् सन् २०१५ को ६ जुलाईमा नै मोदीले सेन्ट्रल एसियाली मुलुकहरुमा भ्रमणको थालिनी सुरु गरिसकेका थिए ।

सेन्ट्रल एसियासँग सम्बन्धमा सु–मधुरता हुने बितिक्कै भारतले कट्टरपन्थी तत्वहरु लगाम कस्न बल पाउने छ । अफगानिस्तानमा तालिबान गतिविधिले गर्दा अफगानिस्तानमा आतंकवादी गतिविधि बढ्ने बितिक्कै भारतले कश्मिरलगायत विभिन्न भू–भागमा कट्टरपन्थीहरु संग्राम गर्नुपर्दछ । अफगानिस्तानबाट खास गरेर आतंकवादीहरु सेन्ट्रल एसियाली मुलुकहरुमा आश्रय लिन्छन् । त्यहाँ जङ्गल र भुमि पर्याप्त भएकोले विभिन्न किसिमको शिविरहरु पनि सञ्चालन गर्ने गर्दछन् । सेन्ट्रल एसियाली मुलुकहरुमा सरकार सामरिक रुपमा बलियो नहुनुको कारणले आतंकवादी गतिविधिलाई नियन्त्रण गर्न हम्मे–हम्मे पर्दछ । भारतले जहिले पनि अफगानिस्तानमा राष्ट्रवादी शक्तिहरुलाई सहयोग गरिरहेको छ र तालिवानलाई कमजोर गर्न कुटनीतिक प्रयासहरु गरिरहेको अवस्था छ । यस प्रयासमा भारतले इरानलगायत सेन्ट्रल एसियाली मुलुकहरुको सहयोग र समर्थनको अपेक्षा गर्दै आइरहेको छ ।

यस अर्थमा भर्खरै २ नोभेम्बरमा भएको शिखर वार्ताले अफगानिस्तानमा भारत र सेन्ट्रल एसियाले एक स्वर र एक ध्वनीमा त्यहाँको राष्ट्रवादी शक्तिहरुलाई सहयोग र सद्भाव जाहेर गर्ने प्रतिबद्धता पनि भएको छ । भारत र सेन्ट्रल एसियाको सामिप्यता बढ्न बितिक्कै अफगानिस्तानको कट्टरपन्थीहरुलाई नियन्त्रण गर्न र संसारबाट कट्टरपन्थी तत्वलाई उन्मुलन गर्न अमेरिकालगायत पश्चिमा शक्तिहरुले पनि सहयोग गर्नसक्ने सम्भावनालाई नकार्न सकिदैन । यस अर्थमा यो शिखर सम्मेलनको महत्व अधिक देखिन्छ ।