जनता टाइम्स

३० कार्तिक २०७७, आईतवार १७:१७

क्रिसमसमा उपहार बनेर आउँदैछ बेलायतमा निर्माण भएको कोरोना भ्याक्सिन, यस्तो छ अन्तिम तयारी


लण्डन, कात्तिक ३० । बेलायतमा निर्माण भएको कोरोना भाइरसविरुद्धको भ्याक्सिनको करोडौँ डोज तयार भएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएअनुसार अक्सफोर्ड युनिभर्सिटी र एष्ट्राजेनेकाले संयुक्त रुपमा तयार गरेको भ्याक्सिन क्रिसमससम्ममा बजारमा पठाउने गरी तयारी गरिएको छ ।

भ्याक्सिनको नेतृत्व गरिरहेका प्रोफेसर एन्ड्रियु पोलार्डले क्रिसमसको समयमा कोरोना भ्याक्सिन उपहारको रुपमा दिनका लागि आफूहरु अत्यधिक उत्साहित रहेको र खटिरहेको जानकारी दिनुभएको छ । अक्सफोर्डको तर्फबाट सार्वजनिक गरिएको रिपोर्टमा उसले तयार गरेको भ्याक्सिन फाइजरको भ्याक्सिनको तुनालामा अत्यभिक सस्तो मुल्यमा उपलब्ध हुने छ । उसले भ्याक्सिन फाइजरको तुलनामा १० गुणा सस्तो उपलब्ध गराउने बताएको हो ।

समाचार एजेन्सीहरुका अनुसार अक्सफोर्डले तयार गरेको भ्याक्सिनलाई माइनस ७८ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने छ । केही साताको बीचमा २ पटक लगाउनु पर्ने अक्सफोर्डको भ्याक्सिनलाई भण्डारणमा पनि फाइजरभन्दा केही सहज हुने दावी गरिएको छ । प्रोफेसर पोलार्डले थकानरहित तरिकाले गरिएको परिश्रमले वर्षको अन्त्यमा खुशी दिएको बताउनुभयो ।

आफ्नो टिम अक्सफोर्डको सानो टिम भएपनि ठूलो मात्रामा भ्याक्सिनको परिक्षण र उत्पादन गर्न सफल भएको उहाँको भनाई छ । उहाँले अक्सफोर्डको सहकार्यमा रहेको संस्था एष्ट्राजेनेकाले नाफारहित आधारमा वितरण गर्ने बताउनु भयो ।