फेरी प्रचण्डको सुवर्ण अवसरको समय हो । पाटीलाई एकतावद्ध वनाउँदै अघि वढ्ने र शक्तिशालि पार्टीको अध्यक्ष वनिरहने, नकी कुनै झुण्डको नेतृत्वमा रमाउने । अझै सारमा भन्दा एकताका नायक वन्ने कि फुटको खलनायक ? यो अध्यक्ष प्रचण्डको हातमा छ । पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री ओलीले पनि हदैसम्मको लचकता अपनाउन जरुरी छ । आफू नेतृत्वमा रहीरहन जे पनि गर्न तयार हुने अर्का अध्यक्ष प्रचण्डको बिगतलाई राम्रोसँग बुझेपछि त्यसैअनुकुलको शैली अपनाई लचिलो बनेर एकता जोगाउन लाग्नुपर्छ
रामकृष्ण शर्मा
सत्तारुढ दल नेकपा यतिबेला निकै अप्ठ्यारो परिस्थितिमा उभिएको छ । यस्को पात्रका रुपमा तीन शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल देखिनुभएको छ । तीन जना पात्रहरुको राजनितिक शक्ति प्राप्तीको आधार हेर्दा अध्यक्ष ओली महाधिवेशनवाट शक्तिमा आउनुभएको हो भने अर्का अध्यक्ष प्रचण्ड ०४५ मा घटाएको सेक्टर काण्डपछि मोहन वैद्य किरणलाई नेतृत्ववाट हटाएर महामन्त्री वनेर शक्तिमा आउनुभयो । यतै माधवकुमार नेपाल ०५० जेठ ३ गते दासढुंगामा भएको मदन भण्डारीको हत्यापछि महासचिव वनेर नेतृत्व लिनुभयो । महाधिवेशनबिनै नेतृत्वमा आउनुभएको प्रचण्ड र माधवले एकछत्र लामो समय शासन चलाउनु भयो । अहिले पनि माधव र प्रचण्ड यो वा त्यो वहानामा नेतृत्वमा अरुलाई स्थापित गर्न भन्दा आफै पार्टीको सर्वोच्व निकायमा सधै कसरी टिकिरहने र प्राप्ती गर्ने भन्ने दौडमा नै रहेको देखिन्छ ।
यो पछिल्लो अवस्थालाई हेर्ने हो भने अहिलेको किचलो अध्यक्ष ओली प्रधानमन्त्री भएको करिव एक वर्ष पुग्दा नपुग्दैवाट देखिन थालेको हो । यो कहिले डिलैमा पुगेको जस्तो गरी त कहिले हल्का ठाकठुकमा मात्र । यो कचपचले बिशेषत तीन जना प्रमुख नेताहरुको व्यक्तित्वको टकराव वेला वेलामा सतहमा आउने गरेको छ । यसको हुँडलो अझै पछिल्लो समय वढेर गएको छ । परिवर्तनको ठुलो अभिभारा बोकेको पार्टीमा व्यक्तिगत टकराव र सत्ता कव्जा गरिहाल्ने दाउका कारण पार्टी नै कामविहिन बन्दा हजारौं कार्यकर्ताहरुमा नैरास्यता व्याप्त छ । पार्टी यस भन्दा ठुलो उपलव्धी नजिक कहिल्लै नपुग्ने ठाने जस्तो अन्तिम भोजको झल्को दिने यो झगडाले अन्य दल र विचार वोक्ने नागरिकलाई समेत इरिटेड वनाएको छ ।
पार्टी सवै सरकार मात्र हो भन्ने आभास दिनेगरी भएको यो किचलो र सरकारमा पुगेपछि छु मन्तर सवै गर्ने, पार्टीबाट केही गर्न नसकिने जस्तो गरी देखिएको लुछाचुँडीले नागरिकलाई नै इरिटेड गरिरहेको छ । एउटै विषय र सन्दर्भमा घुमीघुमी गरिने यस्तो खालको अनावश्यक किचलोले समय र अवसर दुवैको वर्वादी वाहेक अरु केही गर्ने देखिएको छैन । सरकारलाई काम गर्नवाट रोकावट लगाएको हो वा अल्पमत र वहुमतको छलफल मात्र हो पार्टी बहस भन्ने जस्तो देखिदै छ । विहान उठे वहुमत सो गरेर फेरी भोली विहानसम्म भएका कसरतले त्यो अवस्था छ कि छैन भनेर भोलीपल्ट फेरी सो गर्नु पर्ने जस्तो देखिदै छ ।
यो नौ जना सचिवालयका नेताको लुकामारी सामान्य केटाकटीले रुमाल लुकाएर खेले जस्तो वा कता कोही रातारात चोरिन्छ कि भनेर अनिदै वस्नु पर्ने जस्तो गैह्रजिम्वेवार लाजलाग्दो गतिविधीले अन्तत यति ठुलो पार्टी देश परिवर्तनका एजेण्डाहरुले गिज्याई रहेको छ । उता शिर्षस्थ नेताहरुको साख दिन प्रतिदिन घटिरहेको छ । पार्टीको क्रान्तिकारी धार खिया लागिरहेको छ । यति ठुलो त्याग र तपस्यापछि यत्रो शाख वनाएका नेपालका कम्युनिस्ट नेताहरु दिन प्रतिदिन सामान्य नागरिकले समेत गिज्याउने पात्रको रुपमा परिणत हुँदैछन । सरकारका कुनै कामको अपनत्व नलिने प्रवृति अझै मौलाएर जाने हो भने चुनाव, स्थायित्व र विजय केका लागि भन्ने जस्तो गम्भीर प्रश्न खडा हुँदै छ । कतिपय समयमा सचिवालय विघटननै गर्नुपर्ने सम्मका माग पार्टीभित्रैवाट उठ्नुले यो खेल अव कसैका लागि पाच्य छैन ।
अव वहुमत र अल्पमतको विषय के अहिले मात्र हो त ? यसको के छ इतिहाँस भनेर हेर्ने हो भने स्थापनापछि हालसम्म कम्युनिस्ट पार्टी करिव दर्जन वढी पटक फुटेको छ भने जुटेको पनि छ । कम्युनिस्ट पार्टीको तेश्रो महाधिवेशन फुटको श्रृंखलाको सुरुवात देखियो भने २०४६ सालपछि फुट र जुटको क्रम चलिरहयो । यसको अवस्था केलाउँदा अहिलेका अध्यक्ष केपी शर्मा ओली जुटको श्रृंखलामा अघि वढनुभएको देखिन्छ भने अर्का अध्यक्ष प्रचण्ड जुटफुट जे भए पनि आफु शक्तिमा रहिरहन चाहेको स्पष्ट देख्न सकिन्छ । माधव नेपालको त इतिहास राम्रो छैन । उहाँकै नेतृत्वमा ०५४ सालमा नेकपा फुट्यो, नेपालकै ब्यक्तिगत इगो त्यो फूटको प्रमुख कारण रहेको तथ्यलाई स्वीकार गर्नैपर्छ ।
अव दुई अध्यक्षको विषयमा कुरा गर्दा ओली नेतृत्वमा आएपछि तत्कालिन माओवादी केन्द्र जस्तो ठुलो पार्टी मिलाएर नेकपा वनाउनेदेखि करिव आधा दर्जन धेरै साना पार्टी र समुहलाई मिलाएर विशाल नेकपा वनाउनेको नेतृत्व गरेको देखिन्छ । तथापी ओलीको पाँच वर्षे छोटो समयमा पार्टीको शक्तिमा उदय भएको किन नहोस । तर अर्का अध्यक्ष प्रचण्ड शक्तिमा आएको २०४६ सालमा सेक्टर काण्ड असफल भएपछि मोहन वैद्यलाई हटाएर प्रचण्ड महामन्त्री वनेदेखि नै शक्तिमा रहेको देख्न पाईन्छ । कारवाही पश्चात प्राप्त शक्तिको प्रयोग अहिलेसम्म प्रचण्डमा कायम छ । जनयुद्धमा साना ठुला सयौं कारवाही गरेर उदियमान प्रचण्ड नेकपाको अध्यक्ष वनेर आउँदासम्म आफ्नै राजनितिक गुरु मोहन वैद्य वा सहयोद्धा वावुराम भट्टराई, रामबहादुर थापा, वादल वा नारायणकाजी हेडक्वाटर ताकेको वा नेतृत्व हत्याउन खोजेको वहानामा ठुलादेखि साना कारवाही गर्ने वा हटाएर समेत पार्टीको नेतृत्व कव्जा गरिरहने प्रवृति देखिन्छ ।
इतिहास साँछी छ, प्रचण्डको हेडक्वाटर ताक्नेहरु यो वा त्यो वहानामा कारवाहीमा परिरहे । जसको परिणती नेकपा माओवादी आधा दर्जन टुक्रा हुँदासम्म पनि प्रचण्ड अध्यक्ष रहिरहेको देख्न सकिन्छ । ०४६ सालको जनआन्दोलन सम्पन्न भइसकेपछि नेकपा मशाल, नेकपा चौम र सर्वहारा श्रमिक संगठन बीच एकता प्रक्रिया सुरु भयो । तर यो तीन वर्ष पनि टिक्न सकेन । नारायणकजी श्रेष्ठहरुले माग गरेको शान्तिपूर्ण वाटोवाट अघि वढ्ने विचार नमिल्दा अल्पमत पक्षधरलाई हटाईदिए र पछि नारायणकाजीहरुले अर्को पार्टी खोले, पार्टी फुट्यो । विभाजनपछि नै प्रचण्ड समुहले पार्टीको नाम नेकपा माओवादी राख्यो । यहीँवाट प्रचण्डले पार्टी फुटको सुरुवात गरे । त्यही वैठकवाट वावुराम भट्टराईलाई कारवाही गरी संयुक्त जनमोर्चाको नेतृत्ववाट हटाएर पम्फा भुसालाई दिए । यदि जनयुद्धलाई प्रचण्डको शक्ति प्राप्तिसंग मात्र हेर्ने हो भने जनआन्दोलनपछि नाराणकाजीहरुको विचार नै पास भएको देखिन्छ । अन्ततः माओवादी जनयुद्धवाट सत्ताप्राप्तीको वाटोसम्म पुग्न चुकेकै हो उसले गरेको शक्ति आर्जन वाहेक । तत्कालिन माओवादी ०५२ फागुन १ देखि ’जनयुद्ध’ सुरू गरे देखिनै प्रचण्ड, वैद्य र भट्टराईबीच वैचारिक संघर्ष परिरहयो । विचारमा कहिले वैद्य त कहिले बावुरामको पोल्टामा पुगे प्रचण्ड । जुन यस्ता वैठकहरु चर्चित रहे ।
चुनवाङ बैठक : २०६२ को असोज-कात्तिकमा रुकुमको चुनवाङमा यो बैठक भएको थियो । ’नयाँ जनवादी क्रान्ति’का लागि लडिरहेका बेला ’लोकतान्त्रिक गणतन्त्र’को मुद्दा उठाएबापत बाबुरामलाई कारबाही गरेका प्रचण्डले लोकतान्त्रिक गणतन्त्रको कार्यनीति तय गर्दै प्रतिवेदन तयार पारे । घटनाक्रम हेर्दा प्रचण्डको कार्यकालभर नै एकलाई अर्काको विरुद्ध लडाउने रणनिती रहेको पाउन सकिन्छ तत्कालिन नेकपा माओवादी रहँदा पनि । तै पनि चुनवाङ बैठकपछि माओवादी शान्ति प्रक्रियामा आयो । मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भयो र औपचारिक रुपमा माओवादी युद्धको अन्त्य भयो । ०६९ असारमा वैद्य बादल समूह माओवादीबाट अलग भयो।’ ०६२ फागुन २९ मा नेताहरु रवीन्द्र श्रेष्ठ र मणि थापाले पार्टी नेतृत्वप्रति विभिन्न आरोप लगाउँदै छुट्टै समूह बनाएको जानकारी दिए । अधिकांश महत्वपूर्ण राजनीतिक लाइनहरुका ’डिजाइनर’ बाबुराम भट्टराई ०७२ असोज ९ मा एक्लै पार्टी परित्याग गरेका थिए । यी र यस्ता पार्टी फुटको श्रृंखलामा प्रचण्डको प्रत्यक्ष संलग्नता रहयो । तर नेतृत्व विकासको दृष्टिकोणवाट प्रचण्डले अन्य कसैलाइ अघि वढाउन र पार्टी जोगाउन भूमिका खेलेको देखिदैन । पार्टी जस्तोसुकै अप्ठ्यारोमा पुगोस प्रचण्ड अरुलाई नेतृत्व हस्तान्तरण गर्ने भन्दा पनि कारवाही गर्ने र आफै नेतृत्वमा रहेर अघि वढ्ने रणनिति अक्तियार गरेको तथ्य पाइन्छ ।
पछिल्लो समयमा तत्कालिन एमाले र माओवादी केन्द्रको एकताको समयमा समेत वावुराम भट्टराईलाई नारायणकाजी संगको झगडा देखाएर संगै एकताको वाटोमा आउनवाट रोक्न एउटै क्षेत्रको वहाना गोर्खा बने पनि प्रचण्ड स्वयंले वावुरामलाई संगै राख्ने निर्णायक भूमिका निर्वाह गरेनन् । तर नेकपा अध्यक्ष ओलीले भने फरक धार र विचार राख्ने हृदयस त्रिपाठीलाई समेत एकतावद्ध गर्न सफल भए । यी र यस्ता धेरै ऐतिहाँसिक तथ्यले यो देखाउँदै छ । पार्टीलाई ठुलो वनाउन वृहत नेकपा सवै कम्युनिस्टहरुको केन्द्र वनाउन जसरी ओलीको पहलकदमी देखिन्छ, त्यसको विपरित प्रचण्ड सधै आफू शक्तिमा रहनको लागि पार्टीको विघटन गर्नसम्म तयार भएको देखाउछ ।
जे होस अव यो समय भनेको फेरी प्रचण्डको सुवर्ण अवसरको समय हो । पाटीलाई एकतावद्ध वनाउँदै अघि वढ्ने र शक्तिशालि पार्टीको अध्यक्ष वनिरहने, नकी कुनै झुण्डको नेतृत्वमा रमाउने । अझै सारमा भन्दा एकताका नायक वन्ने कि फुटको खलनायक ? यो अध्यक्ष प्रचण्डको हातमा छ । पार्टी एकता जोगाउनका लागि प्रधानमन्त्री ओलीले पनि हदैसम्मको लचकता अपनाउन जरुरी छ । आफू नेतृत्वमा रहीरहन जे पनि गर्न तयार हुने अर्का अध्यक्ष प्रचण्डको बिगतलाई राम्रोसँग बुझेपछि त्यसैअनुकुलको शैली अपनाई लचिलो बनेर एकता जोगाउन लाग्नुपर्छ । मुल नेता भएको कारण ओलीले प्रचण्डदेखि अरु सवै नेताको समस्या बुझेर सही बाटोमा ल्याउने प्रयन्त गर्नुपर्छ । नेकपामा अहिलेको संकट युद्धबिरामतिर लैजादै दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरणमार्फत स्थायी समाधान दिनुपर्छ । यो काममा प्रचण्ड र माधव नेपालसहित सवैलाई बिश्वासमा लिएर अध्यक्ष ओलीले कदम चाल्नुपर्छ । मुल नेता भएको कारण ओलीलाई रिसाउने र इरिटेड भएर कुनै गल्ती गर्ने छुट छैन ।
प्रतिक्रिया दिनुहोस्