काठमाडौँ, मंसिर १९
सरकारले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताएको छ । भारतका विदेशमन्त्री एस जयशंकरले दुवै देशका समस्या सुल्झाउने दिशातर्फ अगाडी बढेको बताएकै भोलीपल्ट सरकारले पनि वार्ताबाटै समस्या समाधान गर्ने बाटोमा बढेको बताएको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताउनु भयो । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले अब नेपाल–भारतबीच रहेका सीमा विवादलगायत सबै विषयमा छलफल हुने बताउनु भयो । उहाले आगामी दिनमा हुने विभिन्न चरणका बैठकमा व्यापार, वाणिज्य, जलस्रोतका साथै सीमा विवादमा पनि स्पष्ट छलफल हुने बाटो खुलेको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको जानकारी गराउनु भयो ।
भारतीय विदेश सचिवले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग शिष्टाचार भेट गरेको र नेपाल भ्रमणको क्रममा सबै विषयमा छलफल गरेको ज्ञवालीको भनाइ थियो । नेपालले भारतसँगको व्यापार घाटा कम गर्नका लागि वाणिज्य सन्धिमा संशोधन चाहेको र त्यसबारे पनि आगामी दिनमा छलफल हुने कुरा भएको उहाले जानकारी दिनुभयो ।
दुवै मुलुकका परराष्ट्रमन्त्री रहेको संयुक्त आयोगको बैठक हुने तय भएको जानकारी दिदै भारतले मिति तोक्ने बताउनु भयो । त्यस्तै, दुवै मुलुकका ऊर्जा सचिवहरूको बैठक र वाणिज्य सचिवहरूको बैठक पनि हुन लागेको जानकारी गराउनु भयो ।













प्रतिक्रिया दिनुहोस्