जनता टाइम्स

१५ पुष २०७७, बुधबार १५:१६

सम्पदा निर्माण–पुर्ननिर्माणमा हाम्रो कार्यकाल स्वर्णयुग : मेयर शाक्य


काठमाडौं, पुष १५

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले संस्कृति सम्पदा बचाउने र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि अहिले स्वर्णयुग भएको बताउनु भएको छ । आज वडा–३१ कार्यालयको भवन शिलान्यास गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । ‘मूर्त–अमूर्त सम्पदा बचाउन र सम्पदा निर्माण–पुर्ननिर्माणका लागि हाम्रो कार्यकाल स्वर्णयुग हो,’ शाक्यले भन्नुभयो, ‘अहिले जति सम्पदा निर्माण–पुर्ननिर्माणको काम यस अघि भएको थिएन । हामी गौरवका साथ भन्न सक्छौँ । हाम्रो पालामा जति सम्पदा निर्माण, पुर्ननिर्माणको काम यस अघिका जनप्रतिनिधिबाट भएको थिएन ।’
उहाँले सम्पदा संरक्षणकै लागि हरेक जात्रा–पर्वलाई जिवन्न राख्न सबै गुठियारसँग समन्वय गरेर महानगरपालिका अघि बढेको पनि बताउनुभयो । ‘गुठियारहरुलाई सम्मान गर्ने काठमाडौँ महानगरले नीति नै बनाएको छ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरले अमूर्त सम्पदाको संरक्षण गर्न सदियौँदेखि लागेका सम्पूर्ण गुरुहरुलाई सम्मान गर्दै आएको छ । कुमारी जात्रालाई निरन्तरता दिनका लागि हामीले पाँच करोडको अक्षयकोष स्थापना गरेका छौँ ।’

शाक्यले सेतो मच्छेन्द्रनाथलगायतका जात्रालगायतका लागि पनि महानगरपालिकाले सहयोग गर्दै आएको स्मरण गराउनुभयो । ‘हामी सम्पदा संरक्षणका लागि सक्दो सहयोग गर्न तयार छौँ । विवाद भएका बाहेक र हामीले देखेका सबै ठाउँमा काम गर्दै आएका छौँ,’ उहाँले भन्नुभयो, ‘यति गर्दागर्दै पनि अझै कतै बाटो निर्माण गर्ने, सम्पदा संरक्षण गर्नेलगायतका काम छुटेको छ भने जानकारी दिनुहोला, हामी हाम्रै कार्यकालमा सम्पन्न गर्ने गरी काम गर्न तयार छौँ । म अहिले काम गर्ने ठाउँमा छु । चुनावी प्रतिवद्धता अनुसार काम गरेर देखाउन सक्छु । त्यसका लागि तयार छु ।’

स्थानीयका लागि वडा भवन

शाक्यले आज शिलान्यास गरेको वडा भवन एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गनुभयो । ‘अहिले जति पनि वडा कार्यालय भवन भनेका छन् । ती मेयर वा वडाध्यक्षको होइनन् । यहिका स्थानीय जनताका हुन,’ शाक्यले भन्नुभयो, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका छौँ । हामी कहिले काँहीे मेयर वा वडाध्यक्षका पालामा बनाएपछि उसैको हुने हो कि भन्ने भ्रममा पर्ने गर्छौ । जुनसुकै वडा कार्यालय बन्दा मेयर वा वडाध्यक्षले हाम्रो पालामा काम सम्पन्न गर्न पायौँ भन्ने आत्मसन्तुष्टि मात्रै लिने हुन् । सेवा–सुविधा त स्थानीयले लिने हो नि ?’

उहाँले राम्रो काम गरिरहेको अवस्थामा पनि अवरोध गर्न पाइयो वा व्यवधान खडा गर्न सकियो भने आफू अघि बढ्न सकिन्छ कि भन्ने प्रवृत्ति हावी हुने गरेकाले समस्या भएको भन्दै त्यो गलत भएको बताउनुभयो । निर्वाचनका बेला सबै उम्मेदवारले स्थानीय तह राजनीति गर्ने थलो नभई काम गर्ने थलो हो र हामी जनप्रतिनिधि हौँ भनी भोट मागेको स्मरण गराउँदै भन्नुभयो, ‘हामीले निर्वाचनका बेला जन अपेक्षा अनुसार काम गर्छौ भनेका थियौँ । त्यहि अनुसार नै काठमाडौँ महानगरपालिका अघि बढेको छ । स्थानीय तह विचारको लडाईँ गर्ने थलो होइन । विचारको लडाई गर्ने हो भने संसदमा जानु होला ।’

३२ वटै वडा भवन मेरै कार्यकालमा बन्छन

उहाँले काठमाडौँ महानगरपालिकाले सबै निर्णय सर्वसहमत ढंगले गर्दै आएको र कुनै पनि निर्णय विवादित नबनेको पनि खुलासा गर्नुभयो । ‘चुनावी प्रतिवद्धता अनुसार काठमाडौँ महानगरपालिकाले आफ्नो केन्द्रीय भवन चाँहि बनाउन सकेको छैन । मुद्धा हालेर रोकेपछि अर्को पटकलाई सजिलो होला भन्ने प्रवृत्तिका कारण हामीले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माण गर्न सकेनौँ,’ उहाँले खिन्नता प्रकट गर्दै भन्नुभयो, ‘जनताबाट समर्थन प्राप्त भएको छ । बजेटको समस्या छैन । बजेटका कारण अहिलेसम्म कुनै पनि काम रोकिएको छैन । तर, कहिले अख्तियार त कहिले अदालत गुहार्र्दा प्रतिवद्धता अनुसार काम गर्न ढिलाई भएको छ ।’

काठमाडौँ मानगरपालिकाले जहाँ सार्वजनिक जग्गा भेट्यो त्यहाँ नयाँ निर्माण गर्दै अघि बढेको पनि उहाँले सुनाउनुभयो । ‘जहाँ पुरानो भवन छ, त्यहाँ त्यसलाई स्तरोन्नति गर्ने काम गर्दै अघि बढेका छौँ । हामीेले कतिपय अवस्थामा जग्गा नभएको ठाउँमा जग्गा खरिद गरेर पनि काम वडा कार्यालय भवन निर्माणको काम अघि बढाएका छौँ, शाक्यले भन्नुभयो, ‘हाम्रो कार्यकाल भित्र खरिद प्रक्रियाको ढिलाई लगायतले केही थोरै कार्यालय भवन सम्पन्न नहोलान तर, ३२ वटै वडा भवन निर्माणको काम भने अघि बढ्छ ।’

हरिभवनलाई बागदरबार देखेपछि समस्या

उहाँले केन्द्रीय भवन निर्माणमा मुद्धा–मामिलाले समस्या भएको दुखेसो पोख्नुभयो । ‘हामीले केन्द्रीय भवन बनाउने भनेको हरिभवन हो । अहिले त्यो भवनलाई बागदरवार भनेर मुद्धा हाल्ने काम भएको छ’ उहाँले भन्नुभयो, ‘बागदरवार बेचिसक्यो एक जनाले, किनेर प्लटिङ गरेर बेचिसक्यो अर्को जनाले । बागदरबार बेच्ने सुशिल संसेर बवरा अहिले जिउँदै हुनुहुन्छ । बागदरबार किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि अहिले जिउँदै हुनुहुन्छ । तर, मुद्धाचाँहि बागदरबार भत्काउने मेयरलाई कारबाही गर्नुपर्छ भनेर हालिएको छ । बेच्ने पनि यहिँ छ, किन्ने पनि यहिँ छ, तपाईँहरु आफैँ कल्पना गर्नुहोस् ।’

अहिलेको हरिभवनलाई बागदरबार हो भनेर प्रमाणित गरेर देखाउन उहाँले चुनौती दिनुभयो । ‘कसैको अनावश्यक चरित्र हत्या गरेर, आरोप लगाएर आफ्नो प्रतिष्ठा उच्चो हुँदैन । अरुलाई सम्मान गर्न सक्यो भने मात्रै आफ्नो पनि प्रतिष्ठा बढ्छ । विभिन्न अवरोधका बिच पनि हामीले वर्षौदेखि अन्योलमा रहेका दरबार हाइस्कुल निर्माण सम्पन्न गरेका छौँ,’ शाक्यले भन्नुभयो, ‘रानीपोखरीको पहिलो चरणको काम सम्पन्न भएको छ । काष्ठमाण्डप, धरहरा निर्माणको चरणमा पुगेका छन् । चुनावमा प्रतिष्पर्धा हुन्छ । त्यो स्वाभाविक हो । तर, चुनावपछि सबैको ध्यान विकास निर्माणमा हुनुपर्छ ।’

चक्रपथ निर्माण नहुँदा मोनोरेलमा ढिलाई

काठमाडौँ महानगरपालिकामा निर्वाचित भएर आएपछि धेरै काम सम्पन्न गरेको भन्दै शाक्यले केही प्रतिद्धता व्यक्त गरेका काम अघि बढाउन नसकेको स्वीकार गर्नुभयो । ‘त्यो मध्ये एक हो, मोनोरेल । चक्रपथमा मोनोरेल चलाउने भनेका थियौँ । चक्रपथ विस्तार भैनसकेकाले त्यो काम गर्न सकेनौँ,’ उहाँले भन्नुभयो, ‘धरहरा बनाउने भनेका थियौँ । धरहरा निर्माण सम्पन्नको चरणमा छ । दरबार हाइस्कुल सम्पन्न भयो । रानीपोखरीको काम पहिलो चरणको सम्पन्न भयो । काष्ठमाण्डप निर्माण सम्पन्नको चरणमा छ ।’

चुनाव अघिको काठमाडौँको बाटो र अहिलेको बाटोमा धेरै फरक भैसकेको भन्दै अधिकांश ठाउँमा, ढलान गर्ने, ढुंगा छप्ने काम सम्पन्न भएको बताउनुभयो । धुलो, हिलो धेरै हदसम्म नियन्त्रण भएको भए पनि अहिले मेलम्ची खानेपानीका कारण केही समस्या भएको उहाँको तर्क छ । सरोकारवाला निकायको सम्वन्वयको अभावले पनि केही समस्या भएको उहाँले बताउनुभयो । ‘यद्यपि हामी प्रतिवद्ध छौँ, हामी अरुले नगरेका काम पनि हाम्रो खर्चमा गरेर महानगरवासीका गुनासा समाधान गर्ने प्रयासमा लाग्नेछौँ,’ उहाँले भन्नुभयो ।

बैखामा निर्वाचन हुन्छ, तयार हुनुहोस्

शाक्यले सरकारले बैशाखमा निर्वाचन मिति घोषण गरिसकेको भन्दै सबै राजनीतिक दल अहिले बैशाखमा हुने निर्वाचनको तयारीमा जुटेको बताउनुभयो । ‘म तपाईँहरुलाई पनि अनुरोध गर्न चाहन्छु । जसले राष्ट्रनिर्माणका लागि काम गर्छ, राष्ट्रवादी काम गर्छ उसैलाई मदतान गर्नुहोस्,’ उहाँले भन्नुभयो ।

२०७४ सालको स्थानीय निर्वाचनपछिको पहिलो कार्यपालिका बैठकले महानगरको केन्द्रीय भवन र सबै वडाको आफ्नै कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यही निर्णय कार्यान्वय गर्ने क्रममा आज वडा ३१ कार्यालयको भवन शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले प्रतिवद्धता अनुसार नै काम अघि बढाएको बताउनुभयो । प्रदेश सांसद गणेश दुलाल, वडाध्यक्ष नारायणप्रसाद भण्डारी, कांग्रस महासमिति सदस्य, सुरजचन्द्र लामिछानेलगायतले पनि पायक पर्ने ठाउँमा वडा भवन निर्माण हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । एक रोपनी ४ आना क्षेत्रफमा निर्माण हुने सो वडा भवनको इष्टिमेट रकम ६ करोड ७५ लाख ६२ हजार १ सय ६२ रुपैँया रहेको र कार्यादेश रकम भ्याट समेत ४ करोड ६७ लाख ४८ हजार ४५ रुपौयाँ रहेको छ । लिफ्टसहितको अपाङ्गमैत्री भवन साढे तीन तलाको रहने छ ।

म्हानगरपालिकाले दिएको जानकारी अनुसार वडा–९ र १८ को भवन उद्घाटन भै सेवा प्रवाह सुरु भैसकेको छ । वडा–३ को भबन निर्माण ९५ प्रतिशत सम्पन्न भएको छ भने वडा–४ को भवन पुस मसान्त भित्र सम्पन्न हुने । वडा– १४ को गृह प्रवेश भैसकेको छ भने वडा–२६ को भबनबाट पनि सेवा सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार वडा–६ को ढलान कार्य सम्पन्न भएको छ । वडा–१२ को टेन्डर प्रक्रियामा रहेको छ । वडा–२२ को दुइ तल्ला ढलान भएको छ । वडा–२१ र २९ टेन्डर प्रक्रियामा रहेको छ । वडा–१६ टेन्डर प्रक्रियामा जान बाँकी छ । अन्य वडा भवनको पनि स्तरोन्नती गर्नेलगायतका प्रक्रिया अघि बढेका छन् ।