काठमाडौं, पुस १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसरमा आज विदेशमा रहेका नेपालीहरूलाई सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले वर्तमान राजनीतिक घटनाक्रमका बारेमा ३६ देशमा रहेका ५ सय भन्दा बढी नेपालीहरुसँग आज बिहान ११ः३० बजे एकैपटक भर्चुअल संवाद गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्रीले पछिल्लो राजनीतिक घटनाका बारेमा जानकारी गराउने र आफ्नो कदमका बारेमा स्पष्ट पार्ने योजनाका साथ नयाँ वर्ष शुभकामना आदान प्रदानसहित कार्यक्रम राखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सर्य थापाले जानकारी दिनुभयो ।
‘विश्वका विभिन्न देशमा रहेका प्रवासी नेपाली एकता मञ्चहरूको संयोजनमा हुन लागेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एक घण्टा जुम मार्फत आफ्नो भनाई राख्नुहुनेछ,’ थापाले भन्नुभयो। कार्यक्रमको संयोजन प्रवासी नेपाली एकता मञ्चले गरेको हो । मञ्चका अष्ट्रेलियाका अध्यक्ष रमेश पाण्डेका अनुसार बिदेशमा रहेका नेपालीले आफ्नो देशको प्रधानमन्त्रीसँग सम्वाद गर्न चाहेकोले यो संवाद निकै फलदायी हुने बताउनु भयो ।
“विदेशमा रहेका नेपालीहरुलाई अहिले नेपालमा भइरहेको राजनीतिक घटनाक्रमका बारेमा धेरै चासो छ । उनीहरु कसरी सहयोग गर्न सकिन्छ भन्ने जिज्ञासा राखिरहेका छन्,” पाण्डेले भन्नुभयो, “यही मेसोमा प्रधानमन्त्रीज्यूले सबैलाई प्रष्ट पार्न लाग्नुभएको हो । हामी ३३ भन्दा बढी देशका प्रवासी नेपाली एकता मञ्चका साथीहरू यसमा सहभागी हुँदैछौ ।”
प्रधानमन्त्रीले एकै पटक बिदेशमा रहेका यति धेरै नेपालीसँग सम्वाद गर्न लाग्नुभएको यो पहिलो पटक हो ।
प्रतिक्रिया दिनुहोस्