काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोललाई ज्यापु समुदायले सम्मान गरेको छ ।
डङ्गोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुभएकोमा ज्यापु समुदायले सम्मान गरेको हो । काठमाडौंको खुशिँवु स्थिति ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रूपमा उहाँलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा डङ्गोलले काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमानदारितापूर्वक काम गर्ने बताउनुभयो । सामाजिक तथा सांस्कृतिक रूपान्तरण र मौलिकता प्रवर्धनका लागि राजनीतिक नेतृत्वमा पुगेर काम गर्न सकिन्छ भनेर नै आफू राजनीतिमा आएको उहाँले बताउनुभयो ।
समुदायले गरेको सम्मानले आफ्नो लक्ष्यप्रति थप आँट र हौसला प्राप्त भएको उहाँले बताउनुभयो । नागरिकको अपेक्षालाई इमानदारितापूर्वक वहन गर्ने डङ्गोलले प्रतिबद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्