काठमाडौं पुस २३ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले विकल्प दिंदा दिंदै पनि प्रचण्ड माधव नेपाल समूह सहमतिमा नआएको बताउनुभयो ।
बुधबार साँझ काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री मानन्धरले पार्टी विवादको सहज अवतरणका लागि प्रधानमन्त्रीले प्रचण्ड- नेपालसामु तीन प्रस्ताव राखेको तर प्रचण्ड सहमत नहुँदा समस्या पैदा भएको खुलाशा गर्नुभयो।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चैतमा हुने महाधिवेशनबाट अध्यक्ष बन्न र आगामी चुनावमा नेकपाका तर्फबाट भावी प्रधानमन्त्रीका रुपमा घोषणा गरेरै जनताका विचमा जाने प्रस्ताव गरेपनि प्रचण्ड सहमत नभएको मन्त्री मानन्धरले बताउनुभयो । प्रधानमन्त्री ओलीले नयाँ पुस्तालाई पार्टी नेतृत्वमा ल्याउनेगरी काम गर्न अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपाललाई प्रस्ताव गरेको भए पनि उहाँहरु सहमत नभएको मन्त्री मानन्धरले भन्नुभयो ।
अझै पनि एकता कायम हुने सम्भावना नसकिएको बताउँदै मन्त्री मानन्धरले ताजा जनादेशका लागि जनतामा जाने निर्णयमा सहमत भएर आउन प्रचण्ड नेपाल समुहलाई आग्रह गर्नुभयो । मन्त्री मानन्धरले प्रधानमन्त्रीलाई घेराबन्दीमा पारेर काम गर्न नदिइएको बताउँदै जनताको समृद्धिको सपना साकार पार्न पुन निर्वाचनमा जानुपरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने र आगामी चुनावबाट नयाँ नेतालाई समृद्धिको अभियानको नेतृत्व दिने बताउँदा पनि केही नेताको स्वार्थले पार्टीमा विभाजन आउन लागेको मन्त्री मानन्धरको तर्क छ । अहिले भड्किएर हिडेका नेता कुनै दिन पश्चातापसहित मुलधारमा फर्कने बताउँदै मन्त्री मानन्धरले अरुको उक्साहटमा प्रचण्डले नेपालको राजनीतिक इतिहासै ठुलो अवसर गुमाएको बताउनुभयो ।
एकतापछि चलायमान हुनुपर्ने पार्टी संगठनहरु जाम भएर बसेको तर अहिले अध्यक्ष ओलीको सक्रियतामा चलायमान हुन थालेको बताउँदै मन्त्री मानन्धरले सरकार र पार्टी दुबै चलायमान हुने दाबी गर्नुभयो । विधिका कुरा गर्ने नेताहरु नै अवैध रुपमा नेतृत्व हत्याउन खोजेकाले समस्या पैदा भएको बताउँदै मन्त्री मानन्धरले कार्यकर्ता र जनताले आगामी दिनमा नेताहरुको मुल्यांकन गर्ने बताउनुभयो । महाभारत युद्धको अन्तिममा कृष्णलाई गान्धारीले दिएको सरापको उदाहरण दिंदै मन्त्री मानन्धरले वर्तमान अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीको कुल र मुल जोगाउने नेता केपी ओली हुने दाबी गरे ।
कार्यक्रममा वल्ड बुक अफ रेकर्डमा बहालवाला मन्त्रीको एकल कन्सर्टमा लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्ड गीत गाएर रेकर्ड बनाएका मन्त्री मानन्धरलाई सम्मान गरिएको थियो । कार्यक्रममा बालाजु यातायात र तारकेश्वर यातायातले मन्त्री मानन्धरलाई सम्मान गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्