काठमाडौं, माघ २५
भारतको उत्तराखण्डस्थित चमोलीमा हिमनदी फुट्दा बाढी आएको छ। भारतीय समाचार संस्था एएनआइका अनुसार आज चमोलीको हिमनदी फुट्दा धौलिगंगा नदीमा बाढी आएको हो। बाढीले तपोवन क्षेत्रको ऋषिगंगा पावर प्रोजेक्टमा पनि असर गरेको छ। त्यहाँको ड्याम पनि फुटेको एएनआइले जनाएको छ।
बाढी आएपछि प्रभावित क्षेत्रका मानिसहरूको खोजी तथा उद्दार कार्य अघि बढाइसकेको छ । अधिकारीहरूले हरिद्वारसम्मको जिल्लाका मानिसहरूलाई सचेत गराएको छ। इन्डो–टिवेटियन बोर्डर पुलिसका सयौं अधिकारीलाई राइनी गाउँमा खटाइएको छ। बाढी पसेको त्यस गाउँको नदी छेउका घरहरू बगाएको र केहीले ज्यानसमेत गुमाएको हुनसक्ने आशंका गरिएको छ।
‘चमोली जिल्लामा प्रकोप आएको खबर छ। जिल्ला प्रशासन, प्रहरी र प्रकोप व्यवस्थापनलाई आवश्यक कारबाहीका लागि निर्देशन दिइसकेको छ। अरू कुनै पनि अफवाहलाई ध्यान नदिनू। सरकारले आवश्यक कदमहरू चालिरहेको छ,’ उत्तराखण्डका मुख्यमन्त्री टिएस रावतले ट्वीट गर्दै भन्नुभएको छ ।
उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘सावधानी स्वरूप, भागीरथी नदीको बहावलाई रोकिएको छ। अलकन्दा पानीको बहाव रोक्न सकोस् भनेर श्रीनगर र ऋषिकेष ड्यामलाई खाली गरिएको छ ।’ ऋषिगंगा पावर प्रोजेक्टमा काम गरिरहेका १५० जना भन्दा बढीलाई बाढीले असर गरेको स्टेट डिजास्टर रेस्पोन्स फोर्सका डिआइजी रिधिम अग्रवालले बताउनुभयो ।
पावर प्रोजेक्टका अधिकारीकाअनुसार साईटमा रहेका १५० जना सम्पर्कमा आएका छैनन् ।समाचार संस्था एएनआईले चमोली जिल्लाका १०० देखि १५० जनाको मृत्यु भएको आशंका गरिएको जनाएको छ। चमोली जिल्लाका म्याजिस्ट्रेट स्वाती एस भदौरियाले धौलिगंगा नदी छेउ बस्नेलाई अन्तै लग्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। एजेन्सी
प्रतिक्रिया दिनुहोस्