जनता टाइम्स

९ फाल्गुन २०७७, आईतवार २१:०१

यी हुन आफ्नै भाञ्जाको अपहरण गरेर दिदीसँग एक करोड फिरौती माग्ने अभियुक्त


जनकपुर, फागुन ९ । धनुषामा आफ्नै भाञ्जाको अपहरण गरेको आरोपमा पक्राउ परेका युवकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

नगराइन नगरपालिका–६ जटही निवासी रमेश दासका ७ बर्षीय छोरा चन्दनको शनिबार अपहरण गरेको आरोपमा रामरतन भनिने लक्ष्मेश्वर दासलाई धनुषा प्रहरीले आज सार्वजनिक गरेको हो । महोत्तरीको पिपरा गाउँपालिका ७ घर भई जनकपुरधाम उपमहानगरपालिका ७ कटैयाचोरी बस्ने २० बर्षीय लक्ष्मेश्वर चन्दनका आफ्नै मामा हुन् ।

चन्दनको अपहरणमा संलग्नता रहेको भन्दै प्रहरीले लक्ष्मेश्वर, अपहरित बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको प्रहरीले जथनाएको छ ।

शनिबार दिउँसो १ बजे घर अगाडि खेलिरहेका चन्दनलाई लक्ष्मेश्वरले चाउचाउ, बिस्कुट दिएर जनकपुरधामस्थित कोठामा ल्याएका थिए । कोठामा ल्याएपछि लक्ष्मेश्वरले नयाँ नम्बरबाट आफ्नी दिदी अर्थात चन्दनकी आमालाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागेका थिए । घटनाबारे जानकारी पाएपछि खोजी सुरु गरेको प्रहरीले खोजतलास गर्ने क्रममा लक्ष्मेश्वरको कोठाबाट चन्दनको उद्धार गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिनुभयो ।

‘आफ्नै भाञ्जाको अपहरण गरी १ करोड माग गरेका लक्ष्मेश्वर मोलमोलाई गरेर केही रकम लिने योजनामा थिए, तर उनको योजना सफल भएन,’ एसपी रानाभाटले भन्नुभयो । उनले केही रकम भएपनि पाउने हिसाबले बच्चाको अपहरण गरेको देखिएको प्रहरीको भनाइ छ ।