जनता टाइम्स

३१ चैत्र २०७७, मंगलवार १८:४३

२०७७ को अन्तिम दिन सेयर बजारमा नयाँ रेकर्ड, वर्षभरमा १४ सय ६३ अंकले बढ्यो सूचक


काठमाडौं, चैत ३१

यस २०७७ वर्षको अन्तिम दिन नेप्से सूचक २७ सय अंक क्रस गरेर अर्को नयाँ रेकर्ड पनि कायम गरेको छ । २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा आइपुगेको छ । यो अहिलेसम्मकै सर्वाधिक विन्दु हो । आजको दृष्यले लगानीकर्ताहरु थप उत्साहित भएका छन् । बजारले अझै सकारात्मक हुने संकेत देखिएको छ । नयाँ वर्षसँगै बजारमा थप उत्साह थपिने अनुमानहरु भइरहेका छन् । नयाँ वर्षपछि सूचीकृत कम्पनीहरुको वित्तीय विवरण आउने भएकाले पनि लगानीकर्ताहरु उत्साहित छन् ।

१३ मध्ये ६ समूहका सूचक वृद्धि भएका छन् । ५ कम्पनीको भाउ सर्किट लाग्ने गरी वृद्धि भएका छन् । कारोबार रकममा २८ करोड ६२ लाख रुपैयाँभन्दा बढीसहित नबिल बैंक अग्रस्थानमा रहेको छ । दोस्रोमा नेपाल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक रहेका छन् । ७ अर्ब १४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।