जनता टाइम्स

१७ जेष्ठ २०७८, सोमबार १६:२४

सूर्ती कम्पनीको सहयोग लिँदा ऐन कार्यान्वयमा समस्या


काठमाडौं, जेठ १७

सरोकारवालाहरुले सूर्ती तथा चुरोट उद्योगहरुबाट नीति निर्माण तहका व्यक्तिहरु प्रभावित भएकाले सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयन हुन नसकेको बताएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनले विश्व सूर्तीजन्य पदार्थरहित दिवसको अवसरमा संयुक्त आयोजना गरेको भर्चुअल कार्यक्रमा वक्ताहरुले ऐन कार्यान्वयन नहुँदा सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा आउन नसकेको बताएका हुन् । त्यस्तै कार्यक्रममा नसर्ने रोगको प्रमुख कारक तत्व सूर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न यसअघि नै बनेको कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनलाई प्रयोगमा ल्याउन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो । अहिले भने मन्त्रालय विगत १८ महिनादेखि कोभिड केन्द्रित भएकाले अरु कार्यक्रमहरुमा समय दिन नपाएको बताउनुभयो । त्यस्तै कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सूर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरालाई बढाए उत्पादन र प्रयोगमा कमी आउने बताउनुभयो । कर बढाउँदा राज्यको बिना लगानीमा हजारौं नागरिकको ज्यान जोगाउन सकिने सरल उपाय हुँदाहुँदै पनि कर बढाउनेतर्फ राज्यले किन नसोचेको भन्ने प्रश्न गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. दिव्यासिंह शाहले सुर्तिजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा हानी मात्रै गर्छ भन्ने थाहा हुँदाहुँदै पनि यसको प्रयोगमा कमी नआएको र यसका लागि सुर्ति उद्योगमा लगानी रोकी त्यो लगानी अन्य क्षेत्रमा लगाउन राज्यले व्यापारीहरुलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा.राधिका थपलियाले ऐन नियमको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने काम गृह मन्त्रालयको रहेको र यसबारे मन्त्रालय/मन्त्रालय बीचको समन्वय नहुनु प्रमुख समस्या रहेको सुनाउनुभयो । उहाँले सुर्तिजन्य पदार्थको प्रयोगमा कमी ल्याउन सूचना केन्द्रले पैरवी गर्ने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा. राजेश सम्भाजिरावो पाण्डवले धुमपान गर्ने त छदैंछ उसका वरपर बस्नेको स्वास्थ्यमा समेत असर पुग्दा लाखौं व्यक्तिको मृत्यु भइरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले विश्वमा १२ लाख व्यक्तिको मृत्यु धुमपान गर्ने व्यक्तिको नजिक बसेको धुँवाका कारण हुने गरेको पनि उल्लेख गर्नुभयो । उहाँका अनुसार ८० लाखभन्दा बढी व्यक्तिको मृत्यु सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने गरेको छ ।

यता एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सूर्ती उद्योगहरुले सामाजिक उत्तरादायित्व तथा चन्दाका नाममा उच्च तहका व्यक्तिहरु, डाक्टर, सरकारी अधिकारी, अस्पतालहरुलाई चन्दालगायतका कुनै पनि बहानामा आर्थिक सहयोग गर्ने र त्यो सहयोग लिने गर्दा नीति, नियम कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो । म्यूजिक भिडियोहरुमा सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानीकारक छ भनेर सानो अक्षरमा लेख्ने तर भिडियो नसकिदाँसम्म चुरोटको प्रयोग भइरहेको दृश्य देखाउँदा समेत जनचतेनामा असर पुगिरहेको उहाँले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले जनस्वास्थ्यलाई हानी गर्ने सुर्तिजन्य पदार्थ प्रयोग नगर्न/नगराउन सबैको हातेमालो आवश्यकता रहने बताउनुभयो । उहाँले धूमपानको कुलतमा लागिसकेकाहरुलाई कुलतबाट निकाल्ने उपयुक्त विकल्पको खाँचो रहेको औल्याउनुभयो । कार्यक्रममा दि युनियन एसिया प्यासिफिक रिजनका निर्देशक डा. तारासिंह बमले सुर्तिजन्य पदार्थ प्रयोग विरुद्ध जारी भएका ऐन नियमको कार्यान्वयन गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । प्रभावकारी कानुनहरु भएर पनि त्यसको कार्यान्वयन हुन नसक्दा वर्षेनी हजारौं व्यक्तिको मृत्यु यही पदार्थकै कारण भइरहेको बताउनुभयो ।

मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले चुरोटले फोक्सो मात्रै खराब गर्छ भन्ने बुझाइका कारण मष्तिष्कघात र हृदयघातको समस्या बढिरहेको बताउनुभयो । ‘कोभिडको डरले अहिले धेरैले धुमपान छोडेको पाइएको छ, उहाँले भन्नुभयो, ‘मैले बिरामीसँग सोध्ने गरेको छु । चुरोट खानेलाई कोभिड भयो भने खतरा धेरै हुने थाहा पाएर उहाँहरुले चुरोट छोडेको पाएको छु । यो महामारीमा चुरोट छाड्ने अवसर छ, जनचेतनाका कार्यक्रममा विशेष ध्यान दिनुपर्छ ।’

स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानले सुर्तिजन्य पदार्थ प्रयोगविरुद्ध बनेको कानुन कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले तदारुकता नदेखाएको बताउनुभयो । उहाँले सुर्तिजन्य पदार्थको उत्पादन र प्रयोगलाई रोक्न सञ्चारमाध्यम र स्वास्थ्य पत्रकाहरुले निरन्तर खवरदारी गरिरहेको पनि सुनाउनुभयो । उहाँले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले सूर्ति नियन्त्रण सम्वन्धी कार्यक्रममा अपेक्षाकृत चासो नदिएको आरोप लगाउनुभयो ।

कार्यक्रममा केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले नेपालमा पछिल्लो सुर्तिजन्य पदार्थको प्रयोगको अवस्था, सरकारले गरेका र गर्दै गरेका कामहरुको बारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सांसद, नेता तथा सरोकारवाला निकायका प्रतिनिधि, पत्रकारलगायत ९० जनाको सहभागिता रहेको थियो । ‘सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस, कुलत त्याग्नेहरु नै बास्तविक विजेता हुन्’ भन्ने नाराका साथ आज विश्वभर विविध कार्यक्रम गरी विश्वधूमपानरहित दिवस मनाइएको छ ।

के छ कानून ?

सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन,ऐन २०६८) ले सार्वजनिक स्थलमा धूमपान तथा सुर्र्तिजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ यदि गरेमा १०० रुपैयाँ जरिवाना तिर्नपर्ने व्यवस्था छ तर अहिले सम्म कति जरीवाना उठ्यो यसको तथ्यांक सरकारी निकायसँग छैन । कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन् । यति गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर खेलकुद तथा अन्य कार्यक्रमहरु सुर्ति कम्पनीहरुले स्पन्सर गरिरहेको देख्न सकिन्छ भने संस्थादेखि अस्पतालसम्मले उनीहरुबाटै सहयोग लिइरहेका छन् ।

फुटकर रुपमा चुरोट बिडी वा सिगारको खिल्ली बिक्री बितरण गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । तर खुलेआम फुटपाथ पसल यतिसम्मकी अस्पतालका गेटमा रहने पसलमासमेत सुर्तिजन्य पदार्थको प्रयोग भइरहेको छ । कार्यालय र सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिसेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ । यदि नगरेमा त्यस्तो कार्यालयले ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर सरकारी कार्यालयदेखि अस्पताल हाताभित्रै कर्मचारीहरुले चुरोट प्रयोग गरिरहेको देखिन्छ ।

सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनु पर्छ यदि नलिएको खण्डमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ भने निशुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइदैन । यदि यस्तो गरेको भेटिएमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ । यसैगरी १८ बर्ष भन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलव्ध गराउन पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । साथै, सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन,ऐन २०६८) ले गरेको छ ।