काठमाडौं, जेठ १७
सरोकारवालाहरुले सूर्ती तथा चुरोट उद्योगहरुबाट नीति निर्माण तहका व्यक्तिहरु प्रभावित भएकाले सूर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन कार्यान्वयन हुन नसकेको बताएका छन् । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनले विश्व सूर्तीजन्य पदार्थरहित दिवसको अवसरमा संयुक्त आयोजना गरेको भर्चुअल कार्यक्रमा वक्ताहरुले ऐन कार्यान्वयन नहुँदा सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा आउन नसकेको बताएका हुन् । त्यस्तै कार्यक्रममा नसर्ने रोगको प्रमुख कारक तत्व सूर्तीजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न यसअघि नै बनेको कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनलाई प्रयोगमा ल्याउन मन्त्रालय प्रयासरत रहेको बताउनुभयो । अहिले भने मन्त्रालय विगत १८ महिनादेखि कोभिड केन्द्रित भएकाले अरु कार्यक्रमहरुमा समय दिन नपाएको बताउनुभयो । त्यस्तै कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले सुर्तिजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सूर्तीजन्य पदार्थमा लाग्दै आएको करको दायरालाई बढाए उत्पादन र प्रयोगमा कमी आउने बताउनुभयो । कर बढाउँदा राज्यको बिना लगानीमा हजारौं नागरिकको ज्यान जोगाउन सकिने सरल उपाय हुँदाहुँदै पनि कर बढाउनेतर्फ राज्यले किन नसोचेको भन्ने प्रश्न गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. दिव्यासिंह शाहले सुर्तिजन्य पदार्थको प्रयोगले स्वास्थ्यमा हानी मात्रै गर्छ भन्ने थाहा हुँदाहुँदै पनि यसको प्रयोगमा कमी नआएको र यसका लागि सुर्ति उद्योगमा लगानी रोकी त्यो लगानी अन्य क्षेत्रमा लगाउन राज्यले व्यापारीहरुलाई प्रोत्साहन गर्नुपर्ने सुझाव दिनुभयो । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्रका निर्देशक डा.राधिका थपलियाले ऐन नियमको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने काम गृह मन्त्रालयको रहेको र यसबारे मन्त्रालय/मन्त्रालय बीचको समन्वय नहुनु प्रमुख समस्या रहेको सुनाउनुभयो । उहाँले सुर्तिजन्य पदार्थको प्रयोगमा कमी ल्याउन सूचना केन्द्रले पैरवी गर्ने पनि उल्लेख गर्नुभयो ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधी डा. राजेश सम्भाजिरावो पाण्डवले धुमपान गर्ने त छदैंछ उसका वरपर बस्नेको स्वास्थ्यमा समेत असर पुग्दा लाखौं व्यक्तिको मृत्यु भइरहेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले विश्वमा १२ लाख व्यक्तिको मृत्यु धुमपान गर्ने व्यक्तिको नजिक बसेको धुँवाका कारण हुने गरेको पनि उल्लेख गर्नुभयो । उहाँका अनुसार ८० लाखभन्दा बढी व्यक्तिको मृत्यु सुर्तिजन्य पदार्थको प्रयोगबाट हुने गरेको छ ।

यता एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले सूर्ती उद्योगहरुले सामाजिक उत्तरादायित्व तथा चन्दाका नाममा उच्च तहका व्यक्तिहरु, डाक्टर, सरकारी अधिकारी, अस्पतालहरुलाई चन्दालगायतका कुनै पनि बहानामा आर्थिक सहयोग गर्ने र त्यो सहयोग लिने गर्दा नीति, नियम कार्यान्वयनमा समस्या भइरहेको बताउनुभयो । म्यूजिक भिडियोहरुमा सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानीकारक छ भनेर सानो अक्षरमा लेख्ने तर भिडियो नसकिदाँसम्म चुरोटको प्रयोग भइरहेको दृश्य देखाउँदा समेत जनचतेनामा असर पुगिरहेको उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य कोमल वलीले जनस्वास्थ्यलाई हानी गर्ने सुर्तिजन्य पदार्थ प्रयोग नगर्न/नगराउन सबैको हातेमालो आवश्यकता रहने बताउनुभयो । उहाँले धूमपानको कुलतमा लागिसकेकाहरुलाई कुलतबाट निकाल्ने उपयुक्त विकल्पको खाँचो रहेको औल्याउनुभयो । कार्यक्रममा दि युनियन एसिया प्यासिफिक रिजनका निर्देशक डा. तारासिंह बमले सुर्तिजन्य पदार्थ प्रयोग विरुद्ध जारी भएका ऐन नियमको कार्यान्वयन गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । प्रभावकारी कानुनहरु भएर पनि त्यसको कार्यान्वयन हुन नसक्दा वर्षेनी हजारौं व्यक्तिको मृत्यु यही पदार्थकै कारण भइरहेको बताउनुभयो ।
मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले चुरोटले फोक्सो मात्रै खराब गर्छ भन्ने बुझाइका कारण मष्तिष्कघात र हृदयघातको समस्या बढिरहेको बताउनुभयो । ‘कोभिडको डरले अहिले धेरैले धुमपान छोडेको पाइएको छ, उहाँले भन्नुभयो, ‘मैले बिरामीसँग सोध्ने गरेको छु । चुरोट खानेलाई कोभिड भयो भने खतरा धेरै हुने थाहा पाएर उहाँहरुले चुरोट छोडेको पाएको छु । यो महामारीमा चुरोट छाड्ने अवसर छ, जनचेतनाका कार्यक्रममा विशेष ध्यान दिनुपर्छ ।’
स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानले सुर्तिजन्य पदार्थ प्रयोगविरुद्ध बनेको कानुन कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालयले तदारुकता नदेखाएको बताउनुभयो । उहाँले सुर्तिजन्य पदार्थको उत्पादन र प्रयोगलाई रोक्न सञ्चारमाध्यम र स्वास्थ्य पत्रकाहरुले निरन्तर खवरदारी गरिरहेको पनि सुनाउनुभयो । उहाँले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले सूर्ति नियन्त्रण सम्वन्धी कार्यक्रममा अपेक्षाकृत चासो नदिएको आरोप लगाउनुभयो ।

कार्यक्रममा केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा. भक्त केसीले नेपालमा पछिल्लो सुर्तिजन्य पदार्थको प्रयोगको अवस्था, सरकारले गरेका र गर्दै गरेका कामहरुको बारेमा प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सांसद, नेता तथा सरोकारवाला निकायका प्रतिनिधि, पत्रकारलगायत ९० जनाको सहभागिता रहेको थियो । ‘सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस, कुलत त्याग्नेहरु नै बास्तविक विजेता हुन्’ भन्ने नाराका साथ आज विश्वभर विविध कार्यक्रम गरी विश्वधूमपानरहित दिवस मनाइएको छ ।
के छ कानून ?
सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन,ऐन २०६८) ले सार्वजनिक स्थलमा धूमपान तथा सुर्र्तिजन्य पदार्थ सेवन गर्न नपाइने व्यवस्था गरेको छ यदि गरेमा १०० रुपैयाँ जरिवाना तिर्नपर्ने व्यवस्था छ तर अहिले सम्म कति जरीवाना उठ्यो यसको तथ्यांक सरकारी निकायसँग छैन । कुनै पनि सञ्चारमाध्यमबाट सुर्तिजन्य पदार्थको विज्ञापन, कार्यक्रम समाचार सूचना सम्प्रेषण वा प्रायोजन गर्न पाइदैन् । यति गरेमा १ लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर खेलकुद तथा अन्य कार्यक्रमहरु सुर्ति कम्पनीहरुले स्पन्सर गरिरहेको देख्न सकिन्छ भने संस्थादेखि अस्पतालसम्मले उनीहरुबाटै सहयोग लिइरहेका छन् ।
फुटकर रुपमा चुरोट बिडी वा सिगारको खिल्ली बिक्री बितरण गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । तर खुलेआम फुटपाथ पसल यतिसम्मकी अस्पतालका गेटमा रहने पसलमासमेत सुर्तिजन्य पदार्थको प्रयोग भइरहेको छ । कार्यालय र सार्वजनिक स्थलमा धूमपान तथा सुर्तिसेवन निषेधको सूचना टाँस गर्नुपर्ने व्यवस्था छ । यदि नगरेमा त्यस्तो कार्यालयले ५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ तर सरकारी कार्यालयदेखि अस्पताल हाताभित्रै कर्मचारीहरुले चुरोट प्रयोग गरिरहेको देखिन्छ ।
सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न इजाजत पत्र अनिवार्य लिनु पर्छ यदि नलिएको खण्डमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्छ भने निशुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन पाइदैन । यदि यस्तो गरेको भेटिएमा १० हजार रुपैयाँ जरिवाना हुनसक्छ । यसैगरी १८ बर्ष भन्दा कम उमेरका बालबालिका तथा गर्भवतीलाई सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न गराउन वा निशुल्क उपलव्ध गराउन पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ । साथै, सुर्तिजन्य पदार्थप्रति आकर्षण हुने गरी सजावट वा प्रदर्शन गर्न पाइदैन् । यदि गरेमा १० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन,ऐन २०६८) ले गरेको छ ।













प्रतिक्रिया दिनुहोस्