जनता टाइम्स

३ असार २०७८, बिहीबार १८:५४

दलित भन्दै कोठा नदिने घरबेटीविरुद्ध रुपाको जाहेरी


काठमाडौं, असार ३

रुपा सुनारले तल्लो जात भनेर कोठा भाडा नदिएको आरोपमा घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता गर्नुभएको छ । आज केही पत्रकारसहित पुग्नुभएको पीडित सुनारले जाहेरी दर्ता गर्नुभएको हो । काठमाडौं महानगरपालिका–११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको हो । रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोध्नुभएको थियो ।

दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गर्नुभएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबार प्रहरीले प्रमाण नपुगेको भन्दै जाहेरी दर्ता गर्न नमानेपनि दबाबपछि दर्ता गरेको फेसबुकमार्फत लेख्नुभएको छ । उहाँले लेख्नुभएको छ,‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनुहुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ ।’