जनता टाइम्स

१० असार २०७८, बिहीबार १६:२९

स्पेनमा हुने भनिएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक विश्वकप क्रिकेट खेल स्थगित


काठमाडौं, असार १०

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड–१९ को कारण स्पेनमा तय भएको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिरिज आगामी जुलाई अन्तिममा हुने तालिका रहेको थियो । क्यानका सचिव अशोकनाथ प्याकुरेलले कोभिडको प्रभावका कारण स्पेनमा हुने तय भएको सिरिज स्थगित भएको जनाउनुभयो ।

सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । मुख्य प्रशिक्षक डेभ वाटमोरसमेत नेपाल आएर बन्द प्रशिक्षणमा सहभागी भएका थिए । तर अन्तिम समयमा आएर कोभिडको कारण देखाउँदै सिरिज स्थगित भएको छ ।

लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । लिग–२ अन्तर्गत नै ओमानमा तय भएको नेपाल, ओमान र अमेरिकाबीचको सिरिज भने स्थगित भएको थियो । ओमानमा हुने सिरिज मार्च १९ देखि २८ सम्म हुने तालिका रहेको थियो ।